प्रविधिकै कारण अमेरिकामा राष्ट्रिय सङ्कटकाल, निशानामा चिनियाँ कम्पनी ?

होमल्याण्ड खबर

२०७६ जेष्ठ २ गते, बिहीबार ०९:५९ मा प्रकाशित

एजेन्सी,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक राष्ट्रिय सङ्कटकाल घोषणा गरेका छन् । ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाको लागि जोखिम पुर्‍याउन सक्ने आँकलन गर्दै केही दूरसञ्चार उपकरणहरुको प्रयोग गर्न बन्देज लगाउँदै एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।

ट्रम्पले विदेशी प्रतिद्वन्द्वीहरूबाट जोगाउन राष्ट्रिय सङ्कटकाल घोषणा गरेको समेत स्पष्ट पारेका छन्।

निशानामा चिनियाँ कम्पनी ह्वावेई ?

ट्रम्पले अमेरिकी कम्पनीहरूले आफ्नो देशको राष्ट्रिय सुरक्षामा जोखिम पुर्‍याउने विश्वास गरिएका केही विदेशी टेलिकम कम्पनीबाट उत्पादित उपकरण खरिद गर्न बन्देज लगाउने कार्यकारी आदेशलाई समेत अनुमोदन गरेका छन् ।

जसमा कुनै कम्पनीको नाम नलिइएको भएतापनि सो आदेशमार्फत चिनियाँ कम्पनी ह्वावेईलाई निसाना बनाउन खोजिएको केही विश्लेषकहरूको तर्क छ ।

यस्तो छ आदेशमा 

ह्वाइट हाउसले जारी गरेको एक वक्तव्यमा ट्रम्पको आदेशले सक्रिय र बढ्दो रूपमा सूचना प्रविधि पूर्वाधार र सेवाको क्षेत्रमा रहेका कमीहरूको फाइदा उठाउने विदेशी प्रतिद्वन्द्वीहरूको प्रभावबाट अमेरिकालाई बचाउने उद्देश्य लिएको स्पष्ट पारिएको छ।