भारतले जित्यो टि–ट्वान्टी सिरिज, एकदिवसीय भोलिबाट

होमल्याण्ड खबर

२०७६ श्रावण २२ गते, बुधबार १२:०० मा प्रकाशित

भारतले वेस्ट इन्डिजविरुद्धको तीन टि–ट्वान्टी क्रिकेट सिरिज क्लीनस्वीप गरेको छ । गएराति अन्तिम खेलमा ७ विकेटको जित निकाल्दै भारतले सिरिज क्लीनस्वीप गरेको हो । 

१ सय ४७ रनको लक्ष्य भारतले १९.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टाएको थियो । भारतको जितमा कप्तान विराट कोहली र रिसब पन्तले अर्धशतकीय पारी खेले । 

भारतका लागि कप्तान कोहलीले ५९ र रिसबले अविजित ६५ रन बनाए । केएल राहुलले २० रन बनाउँदा शिखर धवनले ३ रन जोडेका थिए । वेस्ट इन्डिजका ओसाने थोमसले २ तथा फाबियन एलिनले १ विकेट लिएका थिए । 

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो । किरोन पोलार्डले ५८ रन बनाए पनि टोलीलाई जिताउन असफल रहे । वेस्ट इन्डिजका खेलाडीलाई सस्तैमा रोक्न भारतका दीपक चाहरले ३ विकेट लिए । ३ ओभर बलिङ गर्दै १ मेडन ४ रनमात्र खर्चिएका दीपक म्यान अफ द म्याच पनि भए । 

यस्तै नभदिप सैनीले २ विकेट लिँदा राहुल चाहरको नाममा १ विकेट रह्यो । भारतले यसअघि पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा २२ रनले विजयी भएको थियो । टि–ट्वान्टी सिरिज कब्जा गरेको भारत भोलिबाट एकदिवसीय सिरिज खेल्दैछ ।