१० मंसिर २०८१, सोमबार
नेपाल आउनुअघि भारतका विदेशमन्त्री एस जयशंकर तीन दिने भ्रमणका लागि आइतबार चीन पुगेका छन् । उनी भदौ ४ गते नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन काठमाडौं आउने कार्यक्रम रहेको छ । पछिल्लो काश्मीर प्रकरणमा भारतले लिएको नीतिको चीनले विरोध गरेपछि र पाकिस्तानका विदेशमन्त्री शाह मुहमद कुरेसीले चीन भ्रमण गरे लगत्तै भारतका विदेशमन्त्री चीन गएका हुन् ।
उनी विदेशमन्त्री भएपछि चीन भ्रमण गर्न लागेको यो पहिलो पटक हो । भ्रमणका क्रममा उनी आज चीनसँगको संस्कृति र जनस्तरको सम्बन्धका लागि भारत चीन उच्चस्तरीय संयन्त्रको बैठकमा सहभागी हुनेछन् । सो बैठकको उनले सहअध्यक्षता गर्ने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले चीनमा रहँदा त्यहाँका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी सँग पनि भेट गर्नेछन् ।
दुई पक्षीय संयन्त्र बनाउने निर्णय सन् २०१८को अप्रिलमा चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको दुई पक्षीय भेटवार्ताका क्रममा तय भएको थियो । त्यसखालको पहिलो बैठक सन् २०१८ को डिसेम्बर १ मा भारतमा भएको थियो । दुई देशले जनस्तरको सम्बन्ध बृद्धिका लागि पर्यटन, कला, चलचित्र, मिडिया, संस्कृति र खेलकुदलाई दुबै देशले जोड दिएका छन् ।
भारतीय विदेश मन्त्रालयले अगस्ट ५ का दिन जारी गरेको वक्तव्यमा बैठकमा दुईपक्षीय उच्चस्तरीय भ्रमणको आदान प्रदानका अतिरिक्त क्षेत्रीय र विश्वव्यापी मामिलामा पनि छलफल हुने जनाइएको थियो । (एजेन्सीहरुको सहयोगमा)