दुई महिनापछि भारत–पाकिस्तानबीच युद्ध हुनसक्छः पाकिस्तानी मन्त्री

होमल्याण्ड खबर

२०७६ भाद्र १३ गते, शुक्रबार १३:२८ मा प्रकाशित

भारतले जम्मू-कश्मीर राज्यको विशेष संवैधानिक हैसियत खोस्ने दिल्लीको निर्णयपश्चात् पाकिस्तानले भारतको विरोधमा चर्को आक्रोश पोखिरहेको छ।

पाकिस्तानका रेलमन्त्री शेख रशीद अहमदले त अक्टोबर वा नोभेम्बरतिर भारतसँग युद्ध हुन सक्ने समेत बताएका छन्।

पत्रकारहरूसँग बोल्दै रेलमन्त्री अहमदले भनेका छन्, ‘अक्टुबरको अन्त्यतिर वा नोभेम्बर(डिसेम्बरतिर भारत(पाकिस्तानबीच युद्ध हुने जस्तो देख्दैछु । यसका लागि जनतालाई तयार पार्न लागेको छु। युद्ध हुन्छ नै भन्ने त छैन तर मोदीलाई सम्झाउन अरू ठूला मानिसले गरेको जस्तो गल्ती म गर्नेछैन।’

भारतीय हस्तक्षेपपछि कश्मीरका मुसलमानहरूले पाकिस्तानको मुख ताकेको भन्दै रेलमन्त्री अहमदले भने, ‘२४/२५ करोड मुसलमानले पाकिस्तानको मुख ताकिरहेका छन्।

सबै मतभेदलाई पन्छाएर हामी एकजुट भई कश्मीरीहरूको समर्थनमा लाग्नुपर्छ नत्र समयले हामीलाई माफ गर्नेछैन।’

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि दुवै छिमेकी परमाणुशक्तिसम्पन्न भएको र युद्ध भए केही बाँकी नरहने बताएका थिए।

स्रोत : बीबीसी नेपाली