साउदी इन्धन कम्पनीमाथिको आक्रमणको असर विश्वभर पर्दै

होमल्याण्ड खबर

२०७६ भाद्र २९ गते, आईतवार १५:०३ मा प्रकाशित

साउदी अरेबियाको सरकारी इन्धन कम्पनी अरामको अबकीक र खुरेसमा शनिबार भएको ड्रोन आक्रमणले गर्दा दुवै स्थानको इन्धन उत्पादन प्रभावित भएको छ । साउदी अरेबियाका ऊर्जामन्त्री प्रिन्स अब्दुल अजीज बिन सलमानले आक्रमणका कारण अरामको कुल उत्पादन आधा भएको जनाएका छन् । उनका अनुसार यो आक्रमणले ५७ लाख ब्यारेल कच्चा तेलको उत्पादनमा असर परेको छ ।

अगस्टमा जारी गरिएको ओपेकको आँकडाका अनुसार साउदी अरेबियामा दैनिक ९८ लाख ब्यारेल कच्चा तेल उत्पादन हुने गरेको छ  । अराममा भएको आक्रमणको असर विश्वभरमै तेलको मूल्यमा पर्न सक्नेछ ।

अराम अहिलेको असरबाट मुक्त नभएमा विश्वभरीको बजारमा हरेक महिना १५० मिलियन ब्यारेल तेल कमी हुनेछ । यसबाट अन्तर्राष्ट्रिय स्तरमा तेलको मूल्य बढ्न सक्नेछ । रिपोर्टका अनुसार विश्वभरी दैनिक हुने तेलको सप्लाईको पाँच हिस्सा यसबाट प्रभावित हुनेछ ।

साउदी अरेबियाको सरकारी तेल कम्पनी अराम विश्वभरकै सबैभन्दा महत्वपूर्ण तेल कम्पनी मध्येको एक हो । साथै कच्चा तेलको सबैभन्दा ठूलो निर्यातक हो । ब्लुमबर्गका अनुसार सन् २०१८मा कम्पनीले १११ अर्ब डलरको लाभ हासिल गरेको थियो । यो एप्पल र गुगल कम्पनीको वार्षिक फाइदाभन्दा पनि बढी हो ।

२०१८ को आँकडा अनुसार यो कम्पनी विश्वकै धेरै फाइदा गर्ने कम्पनी हो । सो रिपोर्टका अनुसार २०१७ मा आयकरको रुपमा यो कम्पनीले लगभग १०० अर्ब डलर चुक्ता गरेको थियो । बीबीसी बिजनेस संवाददाताका अनुसार विश्वमा आवश्यक एक प्रतिशत तेल खुरेसबाट आउँछ ।

विश्वमा जाने १० प्रतिशत कच्चा तेल साउदी अरेबियाबाट जाने गरेको छ र उत्पादन कम भएमा मूल्यमा असर गर्न सक्नेछ ।

इरान निकट यमनका हुथी समूहका एक प्रवक्ताले शनिबारको सो आक्रमणको लागि १० वटा ड्रोन प्रयोग भएको बताएका थिए । उनले थप आक्रमण हुन सक्ने समेत एक टेलिभिजन अन्तर्वार्ताका क्रममा चेतावनी दिएका थिए । (बीबीसी)