रोनाल्डो र भर्जील भान डाइकलाई पछि पार्दै मेसीले जिते फिफा बेस्ट प्लेअरको उपाधि

होमल्याण्ड खबर

२०७६ आश्विन ७ गते, मंगलवार १०:४४ मा प्रकाशित

फिफाको ‘प्लेअर अफ दी इअर’ २०१९ को पुरुषतर्फको उपाधि अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले जितेका छन् ।  सोमबार राति इटालीमा आयोजित अवार्ड घोषणा कार्यक्रममा मेसीले उक्त उपाधि जितेका हुन् ।  मेसीले दुई प्रतिस्पर्धी क्रिस्टयानो रोनाल्डो र लिभरपुलका खेलाडी भर्जील भान डाइकलाई उछिन्दै यो उपाधि हात पारेका हुन् ।

मेसीले २०१८–२०१९ को सिजनमा बार्सिलोनालाई ला लिगाको उपाधि दिलाएका थिए । ५० खेल खेल्दा ५१ गोल गर्नुकासाथै २० गोलका लागि पास उपलब्ध गराएका थिए । ला लिगा र युरोपियन च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्तासमेत बनेका थिए । मेसी यो उपाधि बसैभन्दा धैरै जित्ने फुटबलर हुन् । उनीपछि पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले ५ पटक यो उपाधि जितेका छन् ।

अवार्ड घोषणा कार्यक्रममा मेसी पत्नी र २ छोरासहित गएका थिए । उपाधि जितेपछि बोल्दै मेसीले आफूलाई यसको हकदार बनाउनेप्रति आभार प्रकट गरे । उनले उपलब्धि आफ्नो मात्रै भन्दा पनि टोलीको योगदानका कारण भएको उनले बताए ।

महिलातर्फको उपाधि अमेरिकाकी फुटबलर मेगान रापिनोले जितिन । अमेरिकाले २०१९ मा भएको महिला विश्वकप जित्दा टोलीका लागि महत्वपूर्ण योगदान गरेकी थिइन् ।