परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट गरे

होमल्याण्ड खबर

२०७६ आश्विन ८ गते, बुधबार १२:५२ मा प्रकाशित

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग संक्षिप्त भेट गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ७४औं महासभा बैठकमा नेपालका तर्फबाट सहभागी हुन अहिले अमेरिका रहेका मन्त्री ज्ञवालीले ट्रम्पले न्युयोर्कस्थित लोट्टे प्यालेस होटलमा मंगलबार आयोजना गरेका रात्रीभोजमा उनीसँग संक्षिप्त भेट गरेका हुन् ।

विश्वका १९० भन्दा बढी देशका राष्टप्रमुख तथा राष्टसंघीय महासभा डेलिगेसन प्रमुखको स्वागतमा ट्रम्पले दिएको रात्रीभोजमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री ज्ञवालीले सहभागिता जनाएका हुन् ।

त्यसक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालको स्थितिबारे जिज्ञासा राखेका थिए । साथै आपसी सहयोग र सहकार्यका विषयमा पनि कुरा राखेको परराष्ट्रमन्त्री ज्ञवालीले बताएका छन् ।

महासभा बैठकमा नेपालले शुक्रबार आफ्नो धारणा राख्दै छ । महासभामा सहस्राब्दी विकास लक्ष्यका बारेमा पनि निर्धारित र योजना बीचको तालमेल तथा स्रोत-लगानीको आवश्यकताबारे विशेष सहस्राब्दी लक्ष्य बैठक मंगलबार सुरु भएको छ ।

यसमा सन् २०३० लागि निर्धारित सहस्राब्दी लक्ष्य र प्रगती विवरणबारे छलफल भइरहेको छ । सहस्राब्दी लक्ष्यका प्रमुख १७ वटा क्षेत्रहरु स्वास्थ्य, शिक्षा, आर्थिक समृद्धि, वातावरण, लैगिंक समानताजस्ता विषयमा थप स्रोत र लगानीको आवश्यकता रहेका बारे आफूले महासभा बैठकमा जानकारी गराएको परराष्ट्र मन्त्री ज्ञवालीले बताएका छन् ।

यसैगरी स्वास्थ्य क्षेत्रमा रहेको विश्वव्यापी योजनाबारेको बैठकमा स्वास्थ्यमन्त्री उपेन्द्र यादव सहभागी भएका थिए । बैठकका विभिन्न चरणमा वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, राष्ट्रिय योजना आयोगका सदस्यहरु कृष्णप्रसाद ओली, मीनबहादुर शाही, डा‍‍. पुष्पा चौधरी, सांसद तारादेवी भट्ट, दिनानाथ शर्मालगायतले सहभागी हुँदै छन् ।