जापान जान भाषा परीक्षामा लक्की ड्रमार्फत छनोट, यसरि दिनुहोस आवेदन !

होमल्याण्ड खबर

२०७६ आश्विन १२ गते, आईतवार १२:२४ मा प्रकाशित

जापान जाने श्रमिकहरु भाषा परीक्षामा सामेल हुन ‘लक्की ड्र’मार्फत सामेल हुन पाउने भएका छन् ।  नर्सिङ केयरगिभरका लागि जापान जाने श्रमिकहरु भाषा परीक्षामा सामेल हुन सक्नेछन् ।

लक्की ड्रमा सहभागी हुनका लागि अनलाइन आवेदन दिनुपर्ने जापान फाउन्डेसनले जनाएको छ ।

लक्की ड्रका लागि शुक्रबारदेखि नै अनलाइन आवेदन खुलेको जापान फाउन्डेसनले जनाएको हो । आगामी अक्टोबर ३ सम्म आवेदन फारम भर्न सकिने फाउण्डेसनले आफ्नो वेबसाइटमा एक सूचना जारी गर्दै जनाएको छ ।

लक्की ड्र अनलाइन आवेदनका लागि कुनै पनि शुल्क लाग्दैन । जापान फाउण्डेसनले आवेदन दिएकामध्ये सफ्टवेयरको माध्यमबाट अक्टोबर ९ मा लक्की ड्र गरी त्यसमा छनोट हुनेहरुलाई परीक्षाका लागि भौचर भर्न दिने उल्लेख गरेको हो ।

लक्की ड्रमार्फत छनोटमा परेकाहरुले ११ अक्टोबरमा भौचर लिनुपर्दछ । जसका लागि २ हजार ५ सय शुल्क लाग्ने जनाइएको छ । भौचर लिने सम्बन्धमा थप जानकारी लक्की ड्रको नतिजासँगै उपलब्ध गराइने पनि सूचनामा उल्लेख गरिएको छ ।

नर्सिङ केयरगिभरमा जान चाहने कामदारले जापानी भाषा र सिप मूल्याङ्कन परीक्षा दिनुपर्नेछ ।

जापान सरकारले नर्सिङ केयरगिभरमा जान चाहनेका लागि कुनै शैक्षिक योग्यता नचाहिने बताए पनि ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’ र ‘नर्सिङ केयर जापनिज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट’भने पास गर्नुपर्ने जनाएको छ ।

नर्सिङ केयरगिभरको सिप परीक्षा ६० मिनेटको हुनेछ, जसमा ४५ वटा प्रश्न सोधिने छन् । परीक्षा कम्प्युटर बेस्ड टेस्टिङ विधिबाट लिइनेछ । ४५ प्रश्नमध्ये ४० लिखित र बाँकी ५ प्रश्न व्यवहारिक हुनेछन् ।

नर्सिङ केयर जापानिज ल्याङ्ग्वेज इभ्यालुयसन टेष्टमा भने १५ वटा प्रश्नहरु सोधिने छन् । दुवै परीक्षाका लागि १ हजार जापनिज येन शुल्क लाग्नेछ ।

जापानी भाषा परीक्षा अक्टोबर २७ देखि २९ र नोभेम्बर ७, १२ र १४ मा हुने यसअघि नै सूचित गराइसकिएको थियो ।