अष्ट्रेलियाको डढेलो : चर्को हावा चलेका कारण डढेलो निभाउन मुश्किल

होमल्याण्ड खबर

२०७६ पुष २० गते, आईतवार १४:०४ मा प्रकाशित

चर्को हावाहुरीले अस्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रमा लागेको डढेलो निभाउनका लागि अवरोध गरेको छ ।

न्यु साउथ वेल्समा लागेको डढेलोलाई थप चर्काउन १२८ किलोमिटर प्रतिघन्टामा हावाहुरी चलिरहेको अधिकारीहरूले बताए । छिमेकी राज्य भिक्टोरियामा आगोमा फसेका मानिसको उद्धारका लागि सेनाका हेलिकप्टर खटाइएका छन् ।

गत सेप्टेम्बर महिनादेखि डढेलोका कारण अस्ट्रेलियामा कम्तीमा २३ जनाको मृत्यु भएको छ । १२ सयभन्दा बढी घरहरू ध्वस्त भएका छन् भने लाखौं हेक्टर जमीन डढेका छन् । न्यु साउथ वेल्स सबभन्दा बढी प्रभावित भएको भएकाले धेरैको ध्यान त्यहाँ केन्द्रित छ तर सबै भूभाग प्रभावित बनेको छ । फायर यान्ड रेस्क्यु एनएसडब्ल्यूले चारजना अग्निनियन्त्रक घाइते भएको बतायो ।

कमिस्नर पल ब्याक्सटरले ९न्युजलाई बताएअनुसार, तीनजनालाई अत्यधिक तातो र धूवाँका कारण असर परेको छ भने चौथा व्यक्तिले घरमा लागेको आगो निभाउने क्रममा हात जलाएका थिए ।