इरान–अमेरिका तनावले कच्चा तेलको मूल्य बढ्यो, प्रति ब्यारेलको ६९ दशमलव ९४ डलर

होमल्याण्ड खबर

२०७६ पुष २४ गते, बिहीबार ११:५० मा प्रकाशित

इराकमा रहेका अमेरिकी सैनिकहरूका दुईवटा अखाडामा बलिस्टिक क्षेप्यास्त्र प्रहार भएको घटनापछि कच्चा तेलको मूल्यमा वृद्धि भएको छ । एसियाली बजारमा कच्चा तेलको मूल्यमा २ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ र प्रति ब्यारेलको ६९ दशमलव ९४ डलर पुगेको छ । सुन तथा जापानी मुद्रा येन जस्ता सुरक्षित लगानी मानिने बस्तुको मूल्यपनि हमलाको समाचारपछि बढेको छ । तर मध्यपूर्वमा द्वन्द्व चर्कने चिन्ता बढिरहँदा विश्वव्यापी सेअर मूल्यमा भने कमी देखिएको छ । जापानको बेञ्चमार्क निक्केई २२५ स्टकको सूचकांक १.३ प्रतिशत घटेको छ भने हंगकंगमा हांगसेंग ०.८ प्रतिशतले खस्केको छ । इरानको सरकारी टेलिभिजनले भनेको छ देशका एकजना वरिष्ठ कमाण्डर कासिम सुलेमानीको हत्याको बदलामा ती हमलाहरू गरिएका हुन् ।

गत शुक्रवार अमेरिकी ड्रोन हमलामा मारिएका सुलेमानीको मंगलवार अन्तिम संस्कार सम्पन्न भएको केही घण्टापछि नै ती आक्रमणहरू गरिएका हुन् । उनको मृत्युपछि नै अमेरिका र इरानबीचको द्वन्द्व थप खराब अवस्थामा पुग्नसक्ने भनी चिन्ता व्यक्त भएका थिए । त्यस्तो द्वन्द्व बढेमा संसारको सबैभन्दा व्यस्त मानिने होर्मुजको समुद्री मार्गमा जहाजबाट गरिने परिवहन प्रणालीमा अवरोध पुग्न सक्नेछ । खाडीलाई अरब सागरसँग जोड्ने उक्त जलमार्ग भएर संसारको तेल आपूर्तिको पाँच भाग मध्ये एक भाग ओसारपसार हुने गर्दछ । खाडी क्षेत्रमा रहेका प्रमुख तेल निर्यातकर्ताहरूकालागि होर्मुजको जलमार्ग निकै महत्त्वपूर्ण रहेको छ । साउदी अरब, इराक, यूएई र कुवेत जस्ता तेल निर्यातकर्ताहरूको अर्थतन्त्र नै तेल र खनिज ग्यास उत्पादनमा निर्भर रहेको छ । आफ्नो तेल निर्यातकालागि इरानपनि यसै जलमार्गमा निर्भर छ। संसारमा सबैभन्दा धेरै तरलीकृत प्राकृतिक ग्यास, एलएनजी, उत्पादक कतारले लगभग सबैजसो ग्यासको निर्यात यहि जलमार्गबाट गर्दछ । बिबिसि