१० मंसिर २०८१, सोमबार
युक्रेनी विमान दुर्घटनाबारे झुट बोलेको भन्दै इरानको राजधानी तेहरानमा सयौँको सङ्ख्यामा प्रदर्शनकारीहरू सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।
कम्तीमा दुई वटा विश्वविद्यालयमा प्रदर्शन भएको र अश्रुग्याँस प्रहार गरिएको बीबीसीले जनाएको छ । सुरुमा दुई वटा विश्वविद्यालयका विद्यार्थीहरू मृत्यु भएकाहरूलाई सम्मान प्रकट गर्नका लागि जम्मा भएका थिए । सरकारी फार्स समाचार संस्थाले प्रदर्शनबारे समाचार बनाएको थियो जसमा करिब एक हजार प्रदर्शनकारीहरूले नेताहरूविरुद्ध नाराबाजी गरेको र सुलेमानीको तस्बिर च्यातेको बताइएको छ । विद्यार्थीहरूले विमान खसाल्न जिम्मेवार र उक्त घटना लुकाउनेहरूमाथि मुद्दा चलाइनुपर्ने माग गरेका छन् ।
नाराबाजीका क्रममा उनीहरूले इरानका सर्वोच्च नेता आयतूला अलि खामेनीतर्फ लक्षित गर्दै “मुख्य कमान्डर राजीनमा गर” र “झुटो बोल्नेहरूलाई मृत्यु” भन्दै नाराबाजी गरेका थिए ।
फार्सका अनुसार सडक अवरुद्ध पारेका प्रदर्शनकारीहरूलाई प्रहरीले ‘तितरबितर’ पारेको थियो । सामाजिक सञ्जालमा अश्रुग्याँस प्रहार गरिएको भिडिओ देखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘प्रेरणादायी’ प्रदर्शनको समर्थन गर्दै ट्विट गरेका छन् । त्यसमा उनले भनेका छन् “इरानका बहादुर तथा पीडित नागरिकहरू: म मेरो कार्यकालको सुरुबाटै तपाईँहरूको पक्षमा उभिएको छु र मेरो सरकार तपाईँहरूको पक्षमा निरन्तर उभिने छ। हामी तपाईँहरूको प्रदर्शनलाई नजिकबाट नियालिरहेका छौँ। तपाईँहरूको साहस प्रेरणादायी छ।”
इरानले शनिवार “भुलवश” त्यो विमान खसालेको स्वीकार गरेको थियो । तीन दिन अघि भएको सो दुर्घटनामा १७६ जनाले ज्यान गुमाएका थिए । युक्रेनी विमान किएभका लागि उडेको विमान उडेको केही समयमै खसालिएको थियो ।
इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुई वटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो ।
जनवरी ३ मा अमेरिकी ड्रोन आक्रमणमा इरानका सैन्य नेता कासिम सुलेमानी मारिएपछि इरानले अमेरिकाविरुद्ध हमला गरेको थियो।