कोरोना भाइरसले लियो १७ चिनियाँको ज्यान, वुहान सहरमा बस, रेल र विमानस्थल बन्द

होमल्याण्ड खबर

२०७६ माघ ९ गते, बिहीबार १२:३५ मा प्रकाशित

कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेको छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट चिनियाँ सहर वुहानबाट अन्यत्र फैलिइसकेको छ । पाँच सयभन्दा बढी मानिसहरू प्रभावित भइसकेका छन् भने कैयौँको ज्यान गइसकेको चिनियाँ अधिकारीहरुको भनाइ छ ।

कोरोनाभाइरसको पछिल्लो सङ्क्रमण चीनको वुहान सहरको एक बजारमा जनावरबाट सुरु भएको अधिकारीहरूको भनाइ छ । अहिले चिनियाँ अधिकारीहरूले वुहान सहरका दशौँ लाख बासिन्दालाई जरुरी काम नभई शहर नछोड्न निर्देशन दिएका छन् ।

त्यहाँ बिहीवार बिहानदेखि लागु हुने नयाँ नियम चिनियाँ नयाँ वर्षको बिदाको अवसरमा कार्यान्वयनमा आउन लागेको छ। यो बेला दशौँ लाख चिनियाँहरू आफ्नो जन्मथलो फर्कने गर्छन् ।

कोरोनाभाइरसको सङ्क्रमणका कारण अहिलेसम्म १७ जनाको ज्यान गइसकेको बताइएको छ।

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हनोम गुब्रोहयसोसले चिनियाँ कदमको स्वागत गरेका छन् ।