चीनबाट आउने विदेशीलाई भारत प्रवेशमा रोक

होमल्याण्ड खबर

२०७६ माघ २६ गते, आईतवार १६:४६ मा प्रकाशित

चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिँदै गएपछि भारतले चीनबाट आउने विदेशीमाथि अस्थाई प्रतिबन्ध लगाएको छ ।

भारत सरकारले जनवरी १५ पछि चीन गएका अथवा जनवरी १५ सम्म चीनमा रहेका विदेशी नागरिकलाई भारत प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको हो ।

भारतको नागरिक उडड्यनको एभियसन रेगुलेटर डाइरेक्टोरेट जनरलले शनिबार सम्पूर्ण एयरलाइन्सलाई जनवरी १५ मा अथवा जनवरी १५ पछि चीनमा भएका विदेशी नागरिकलाई भारत प्रवेशमा गर्न नदिने सर्कुलर जारी गरेको थियो । उक्त सर्कुलरमा इन्डो-नेपाल, इन्डो-भुटान, इन्डो-बंगलादेश र इन्डो-म्यानमार सीमाबाट  कुनै पनि हवाई, सडक अथवा पानीजहाज हुँदै आउने पर्यटक प्रवेशमा रोक लगाउन बताइएको छ ।

त्यसैगरी चीनबाट आउने विदेशीलाई ई-भिसासमेत बन्द गरिएको दोहोर्‍याइएको छ ।

इन्डिगो र एयर इन्डियाले दुई मलुकबीचमा सम्पूर्ण उडानहरु स्थगित गरेका छन् । तर, स्पाइस जेटले भने दिल्ली-हङकङ उडान जारी राखेको छ ।

यद्यपि शनिबारमात्र कोरोनाका कारण ८९ संक्रमितले ज्यान गुमाएका छन् । विश्वभर नोभेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८१३ पुगेको छ । विश्वभर संक्रमितको संख्या ३७ हजारभन्दा बढी रहेको छ ।

यो संख्या सन् २००२/००३ को सार्सको संक्रमणबाट मृत्यु भएकाहरुभन्दा बढी हो । सार्सबाट मेनल्यान्ड चीन र हङकङमा गरी ७७४ को ज्यान गएको थियो ।

भारतको केरलामा अहिलेसम्म तीनजनामा कोरोनाको संक्रमण भएको पाइएको छ । – डीएनए इन्डिया