कारोनाबाट चीनमा दश दिन अघि नै साढे २४ हजारको मृत्यु भएको खुलासा

होमल्याण्ड खबर

२०७६ माघ २९ गते, बुधबार १२:३५ मा प्रकाशित

अहिले संसारभरि नै कोरोना भाइरसको त्रास बढिरहेको अवस्थामा चीनले भने सङ्क्रमित तथा मृतकको सङ्ख्या लुकाएको हुनसक्ने आशङ्का बढेको छ । बिशेषगरि पश्चिमा मुलुकहरूले यस्तो संशय व्यक्त गरिरहेको बेला चीनमा नै अत्याधीक प्रयोग गरिने च्याटिङ एप (क्यु क्यु ) ले दश दिन अगाडी नै कोरोनाको कारण साढे २४ हजारको मृत्यु भैसकेको जनाएको थियो।

‍‍च्याटिङ एप (क्यु क्यु ) ले फेब्रुअरी १ मा नै मृतकको सङ्ख्या २४ हजार ५८९ भनेर देखाएको थियो । सो आँकडामा सङ्क्रमितको सङ्ख्या एक लाख ५४ हजार २३ जना उल्लेख छ । तर, चीनको स्वास्थ्य मन्त्रालयले सर्वजनीक गरेको हिजो (फेब्रुअरी १०) सम्मको तथ्याङ्कमा पनि लगभग एक हजार जनाको मात्र मृत्यु भएको र करिब ४३ हजार जना मात्र सङ्क्रमित रहेको देखाएको छ ।

‍यसरी क्यु क्यु ले फेब्रुअरी एकमा सार्वजनिक गरेको तथ्याङ्कमा २४ हजार पाँच सय ८९ जनाको मृत्यु भएको देखाएको छ । तर क्यु क्युले उक्त तथ्याङ्कलाई लुकाएर भोलिपल्ट अर्थात् फेब्रुअरी २ मा भने घटाएर ३०४ जनाको मात्र मृत्यु भएको देखाएको थियो । यो प्रमाणको आधारमा चीनले मृतक तथा सङ्क्रमितको सङ्ख्या लुकाएको हो भन्ने दाबी ताइवानको चर्चित पत्रिका ‘ताइवान न्युज’ले गरेको छ।