१० मंसिर २०८१, सोमबार
युरोप भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसमक्ष प्रवासी नेपालीहरुले पोर्चुगलमा दूताबास खोल्न माग गरेका छन् ।
पोर्चुगलस्थित प्रवासी नेपाली एकता मञ्चले पोर्चुगलमा राजदूतावास खोल्न माग गरेको हो । मञ्चको एक प्रतिनिधिमण्डलले पटक पटक सोबारे ध्यानाकर्षण गर्दा पनि नेपाल सरकारले चासो नदिएको भनी परराष्ट्रमन्त्रीसँग गुनासो गरेको थियो ।
जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले छिटोभन्दा छिटो सो समस्या समाधानका लागि आफू र सरकार प्रतिबद्ध भएको बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले आइतबार स्पेनको बार्सिलोनामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कुनै पनि व्यक्तिलाई भ्रष्टाचार गर्न र अवैध कमिशन लिन छुट नभएको बताए । प्रवासी नेपाली एकता मञ्च युरोपका नेता तथा कार्यकर्तालाई आइतबार स्पेनको बार्सिलोनामा सम्बोधन गर्दै उनले भ्रष्टाचार गर्ने कसैलाई पनि सरकारले कारवाही गरेर छाड्ने बताए ।
प्रवासी नेपाली एकता मञ्चका नेताकार्यकर्तालाई प्रवासमा राजनीतिक रस्साकस्सी नगरी सबैसँग समन्वय र सहकार्य गरेर नेपाली समुदायको हकहितका लागि लाग्न पनि उनले अनुरोध गरे । कार्यक्रममा स्पेन, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, पोर्चुगल, नेदरल्यान्डसलगायत युरोपेली राष्ट्रका प्रवासी नेपाली एकता मञ्चका नेताकार्यकर्ताको सहभागिता थियो ।