१० मंसिर २०८१, सोमबार
कोभिड–१९ को विश्वव्यापी संक्रमण फैलिएसँगै सम्भावित जोखिमलाई नियन्त्रण गर्न सरकारले आजदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ ।
कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले आजदेखि १० दिनका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै ९ चैतदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगित गर्ने घोषणा गरेका थिए ।
सोही घोषणालाई कार्यान्वयन गर्न गठित मुख्य सचिवको नेतृत्वको कार्यान्वयन समितिले आजदेखि उक्त घोषणालाई कार्यान्वयन गरेको हो ।
सबै अन्तर्राष्ट्रिय उडानमा गरिएको प्रतिबन्ध तत्काललाई १८ चैतसम्म लागू हुनेछ ।
आन्तरिक उडानहरु भने रोकिएको छैन ।
अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गर्दा बाटोमा अलपत्र परेका नेपाली नागरिकहरुलाई सम्बन्धित देशमा रहेको दूताबासले सुरक्षित क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ ।