बेलायती प्रधानमन्त्री जोनसनलाई सघन उपचार कक्षबाट वार्डमा सारियो

होमल्याण्ड खबर

२०७६ चैत्र २८ गते, शुक्रबार ०९:४५ मा प्रकाशित

एजेन्सी- कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षबाट बाहिर निकालिएको छ। कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मार्च २७ देखि आइसोलेसनमा बसेका जोनसनमा १० दिनसम्म पनि भाइरसका लक्षणहरू निरन्तर देखिएपछि उनलाई आइतबार अस्पताल भर्ना भएका थिए। सघन उपचार कक्ष बाहिर निकालिए पनि जोनसन अस्पतालमै रहने डाउनिङ्ग स्ट्रिटले जनाएको छ।

उनलाई लन्डनस्थित सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो। बिबिसीका अनुसार प्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै बिहीबार साँझ जोनसनलाई सघन उपचारकक्षबाट वार्डमा सारिएको र त्यहाँ उनलाई चिकित्सकहरूले निकट रहेर निगरानी गर्नेछन्।

दुई दिन सघन उपचार कक्षमा रहेका जोनसनलाई उपचारका क्रममा अक्सिजन दिइए पनि भेन्टिलेटरमा भने राखिएको थिएन।