यसरी हुनसक्छ कोरोना खोपमा डरलाग्दो राजनीतिका खेल

होमल्याण्ड खबर

२०७७ श्रावण २ गते, शुक्रबार १२:४३ मा प्रकाशित

कोभिड १९ महामारीको कारण संसारभरमा लगभग ६ लाख जनाले ज्यान गुमाइसकेका छन्। सयौँ लाख मानिसहरू बेरोजगार बनेका छन्। अर्वौ डलरको नोक्सानी धर्तीले व्यहोर्नु परेको छ । हालसम्मको अवस्था हेर्दा यो रोगले त्यति सजिलै मानिसलाई पिरोल्न छाड्ने देखिँदैन।  अझै लाखौँ मानिस यसबाट मर्न सक्छन्।

स्वाभाविक रूपमा कोरोना विरुद्धको खोपको विकासका लागि विश्वभर सयौँ भन्दा बढी प्रयासहरू भइरहेका छन्।  ती मध्ये कतिपय  धेरै आशाजनक पनि देखिन्छन्। सम्भवतः, यी प्रयासहरू मध्ये एक वा केहीले सोचे भन्दा छिटो अपेक्षित सफलता प्राप्त गर्न र खोप बाहिर ल्याउन सक्लान् ।

यदि  मानिसहरूलाई कोरोना सङ्क्रमणबाट जोगाउने एक वा धेरै खोपहरू देखा परे भने पनि त्यसले तुरुन्तै यो धर्तीका सबै मानिसलाई यसको जोखिमबाट तुरुन्तै मुक्त पार्न सक्ने अतिथि हुँदैन।  र, कोरोना प्रतिरोधी खोपको विकासले अहिले नै हाम्रो स्वास्थ्य समस्याको निदान गर्न सक्दैन। त्यसो त चिकित्सा विज्ञान र विशेषज्ञहरूले नै भन्ने गरेका छन्, खोपहरू रामवाण होइनन्। तिनीहरू चिकित्सा विज्ञानमा  एक उपकरण मात्र हुन्।

त्यसबाहेक कुनै पनि खोपले यो लिने सबैमा पूर्ण वा चिरस्थायी प्रतिरोध क्षमताको विकास गराउँछ भन्ने पनि होइन । त्यसबाहेक लाखौँले यस्तो खोप लिन अस्वीकार गर्नेछन्। अहिले संसारमा लगभग ८ अर्व मानिस छन् त्यसैले सबैलाई खोप लगाउने हो भने आठ अर्व डोज (वा यदि एक भन्दा बढी डोज आवश्यक भएमा त्यो भन्दा धेरै बढी) निर्माण गर्न र विश्वभरि वितरण गर्न वर्षौँ लाग्न सक्छ। केही महिनामा त्यो सम्भव हुँदैन ।

यसरी हेर्दा यो आर्थिक मामिला समेत प्रत्यक्ष जोडिएको विषय हो । तिनीहरू पक्कै गाह्रो हुन्छन्। अनि यसको राजनीति पनि कम चुनौतीपूर्ण नहुने पक्का छ। यसो किन भनिएको हो भने खोप निर्माणकर्ताहरूले त्यस्ध्को लागि निकै नै ठुलो धनराशि खर्च गरेका हुन्छन्। अनुसन्धानकर्ता र उत्पादक  कम्पनीहरूले अनुसन्धान र विकासको लागी गरेको लगानी फिर्ता लिने र केही मुनाफा अपेक्षा गर्दछन्। यसमा पहिले नै दसौँ अर्व डलर वा सम्भवतः अधिक खर्च भइसकेको हुन्छ।

तर, खोपको सन्दर्भमा सबैको सब भन्दा कडा राजनीतिक प्रश्न खोपको पहुँचको विषय हुन सक्छ। कसले खोपको प्रारम्भिक खुराक प्राप्त गर्नु पर्छ? कसलाई पहिलो पंतिमा खडा गर्ने र पालो कसरी के आधारमा निर्धारण गर्ने भन्ने हो। खोप विकसित भएको देशमा के विशेष फाइदाहरू हुन्छन्? धनी देशहरूले कुन हदसम्म गरिबहरूलाई यस्तो खोप उपलब्ध गराउने छन् ? के देशहरूले यो मामिलामा हुने भू-राजनीतिक घुसपैठ रोक्न सक्लान् ? उत्पादकहरूले मित्रराष्ट्र र सहयोगीहरूसँग खोप बाँडफाँड गर्दै शत्रु देशहरूमा रहेका कमजोर जनसङ्ख्यालाई लाइनको पछाडि धकेल्छन्? वा, यो सन्दर्भमा अकल्पनीय मानवताको उदाहरण प्रस्तुत होला ?

वास्तवमा राष्ट्रिय स्तरमा, प्रत्येक सरकारले भोलि खोपको उत्पादन गर्ने वा प्राप्त गर्ने विषयमा योजना बनाउनु पर्छ। प्राप्त खोप कसरी वितरण गर्ने भनेर सोच्न सुरु गर्नुपर्दछ। अहिले धेरै मुलुकले अपनाए झैँ के खोप केही वा सबैको लागि निःशुल्क गर्न सम्भव होला ?

अन्तर्राष्ट्रिय स्तरमा प्रश्नहरू अझ जटिल छन्। हामीले यो सुनिश्चित गर्न आवश्यक छ कि उत्पादन छिटो भन्दा छिटो सम्भव बनोस्।  त्यसै गरी पर्याप्त रकमको जोहो यसकारण जरुरी छ कि गरिब देशहरूले निःशुल्क रूपमा खोप प्राप्त गर्न सकुन् । गावी, खोप एलायन्स, विश्व स्वास्थ्य सङ्गठन, धेरै सरकारहरू र बिल एण्ड मेलिंडा गेट्स फाउन्डेसनले कोभिड १९ भ्याक्सिन ग्लोबल एक्सेस (सीओभिएक्स) सुविधा गठन गरेको छ।

यसको गठन गर्दाको प्रस्ताव यो हो कि कुनै पनि प्रभावकारी खोपलाई एक वैश्विक सार्वजनिक हितको उपलब्धिको रूपमा मानिन्छ। अनि त्यसलाई विश्वभर समान रूपमा वितरित गरिने छ।  कुनै मुलुकको भुक्तानी गर्ने क्षमताको परवाह नगरी यो खोप उपलब्ध गराइने छ । डब्ल्यूएचओले एक विश्वव्यापी विनियोजन फ्रेमवर्क अगाडि सारेको छ।  जसले सबैभन्दा कमजोर जनसङ्ख्या र स्वास्थ्य-सेवाकर्मीहरूको लागि प्राथमिकता सुनिश्चित गर्न चाहन्छ।

तर, त्यस्तो दृष्टिकोण अव्यवहारिक हुन सक्छ। यो मात्र होइन कि सीओभिएक्समा पर्याप्त रकम छैन। संयुक्त राज्य अमेरिका र चीनको सहभागिता र स्पष्ट अधिकारको कमी छ। सबै सरकारहरू लाई  आफ्नै नागरिकहरूको हेरचाह गर्न ठुलो दबाब आउने पक्का छ । ‘भ्याक्सिन राष्ट्रियता’ खोप बहुपक्षीयता भन्दा बलियो बन्ने निश्चित छ।

विगत ७ महिनायताका घटनाले यस्ता सन्देहलाई प्रबल बनाएको छ । अमेरिका र चीनले एक अर्कालाई हिलो छ्याप्ने क्रम रोकेका छैनन्। कोभिड-१९ चीनमा देखा पर्‍यो र द्रुत रूपमा विश्वव्यापी समस्या बन्यो। तर, यस सम्बन्धी प्रतिक्रियाहरू भने प्रायः राष्ट्रिय रेखामा नै रहेका छन्। केही देशहरू तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेका छन्। उनीहरूले यसलाई सामूहिक समस्या बनाएका छन्।

कोरोना विरुद्ध विकास हुने खोपको लागि राष्ट्रिय-स्तरको दृष्टिकोण जारी राख्नु विपत्तिलाई सदैव जीवित राख्ने  विधि हो। केवल केही मुठीभर देशहरूले मात्र   खोपहरू उत्पादन गर्न सक्षम हुनेछन्। त्यसैले दृष्टिकोण विश्वव्यापी हुनुपर्दछ। यसका कारणहरू केवल नैतिक र मानवीय छैनन्। आर्थिक र रणनीतिक पनि छन्, किनकि विश्वव्यापी सुधारका लागि सामूहिक सुधारको आवश्यकता छ। (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा)