४ मंसिर २०८१, मंगलवार
एजेन्सी । इरान र इजरायलबिचको तनाव अझै चरम सीमामा छ । दुवै देश एक अर्कालाई खत्तम बनाइदिने कुरा गरिरहेका छन् । यसैबिच इजरायलले इरानका कयौँ आणविक स्थलमा आक्रमण गरेको छ ।
यो आक्रमणबाट इरान स्तब्ध भएको छ । यसै सन्दर्भमा इजरायलले अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेको छ ।
आफूले ट्रम्पसँग कुरा गरेको र दुवै देश इरानको खतराप्रति चिन्तित रहेको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् । अमेरिकासँग मिलेर हामी इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने प्रयास गरिरहेका छौँ ।
अक्टोबर २६ मा भएको आक्रमणले इरानको आणविक कार्यक्रमलाई ठुलो धक्का दिएको पनि उनले बताए । यसैबिच, अमेरिका पनि नेतान्याहुको मनोमानीसँग बेखुस देखिएको छ । इजरायलले हालै गाजामा सर्वसाधारणमाथि गरेको कारबाहीप्रति अमेरिका चिन्तित छ ।
वेस्ट बैंकमा सञ्चालित छवटा शिविरहरूलाई उसले प्रतिबन्ध लगाएको छ । गाजामा इजरायली आक्रमणले सर्वसाधारणको सम्पत्तिमा पनि ठुलो क्षति पुगेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले इजरायलले यस क्षेत्रको शान्तिमा खलल पुर्याउनेमाथि कडा कारबाही गर्नुपर्ने बताएका थिए ।
आईएईएको चेतावनी हालै, आईएईए प्रमुख राफेल मारियानो ग्रोसीले मध्यपूर्वमा युद्ध जारी रहेकाले र राष्ट्रपति चुनाव जितेर डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किँदै गर्दा इरानको बढ्दो आणविक कार्यक्रमबारे वार्ता र कूटनीतिको दायरा घट्दै गएको चेतावनी दिएका थिए । ग्रोसीले हालै तेहरानको भ्रमण गरेका थिए ।
उनले यो भ्रमण इरानको आणविक कार्यक्रमसम्म आफ्ना निरीक्षकहरूको पहुँच पुनर्स्थापित गर्न गरेका थिए । यसअघिका भ्रमणहरूमा उनले यस मामिलामा सीमित सफलता पाएका थिए । इजरायली प्रधानमन्त्रीले एक कार्यक्रममा अक्टोबर २६ मा भएको आक्रमणमा इरानको आणविक अखडामा ठुलो क्षति पुगेको बताए ।
उनले आणविक हतियार सम्पन्न इरान हाम्रो अस्तित्वका लागि खतरा भएको पनि बताए । ‘हामी हाम्रा छिमेकी देशहरूसँग शान्ति सम्झौता चाहन्छौँ, ताकि विश्व शान्ति पनि स्थापना होस् ।’ उनले भनेका थिए । तर, अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको आणविक स्थल र तेलको कुवालाई लक्षित नगर्न अपिल गरेका थिए ।