कोरोना भाइरसलाई कहिले पनि हराउन नसक्ने अवस्था आउन सक्छ : डब्ल्युएचओ

होमल्याण्ड खबर

२०७७ श्रावण १९ गते, सोमबार २०:१६ मा प्रकाशित

एजेन्सी, विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोना भाइरसको संक्रमणलाई कहिले पनि हराउन नसकिने अवस्था पनि आउन सक्ने चेतावनी दिएको छ । यसको कुनै ठोस समाधान गर्न नसकिने सम्भावना पनि उत्तिकै रहेको पनि उस्को भनाइ छ ।

संगठनका महानिर्देशक टेड्रोस अडानोम गिब्रयेसासले भर्चुअल पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उक्त भनाइ राखेको बीबीसीमा उल्लेख छ । उनले भने, यस भाइरसको लागि हाल कुनै सटीक र निश्चित उपचार उपलब्ध छैन र कहिले पनि नपाउन पनि सक्ने सम्भावना छ ।

कोरोना महामारी अझ धेरै दिनसम्म जारी रहन सक्ने भन्ने चेतावनी दिएको भोलिपल्टै विश्व स्वास्थ्य संगठन डब्ल्युएचओको यो भनाइ आएको हो । कोरोनालाई नियन्त्रणमा लिनका लागि विश्वभरका वैज्ञानिकहरु खोप बनाउन लागि परेका छन् । तर हालसम्म बजारमा कुनै खोप आउन सकेको छैन ।

गत महिना अक्सफोर्ड युनिभर्सिटीले खोप परीक्षणमा सुरक्षित रहेको घोषणा गरेको थियो । अब यस भ्याक्सिनको अर्को परीक्षण लगभग १० हजार व्यक्तिहरूमा हुने जनाइएको छ।