१० मंसिर २०८१, सोमबार
मंगलग्रह आज पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ। खगोल विज्ञानमा यो दुर्लभ घटना हो, जसमा मंगलग्रह, पृथ्वी र सूर्य एकसाथ समानान्तर हुन्छन्। यसको अर्थ तीनै ग्रह १८० डिग्रीको कोणमा हुने छन् । यो घटनालाई खगोलीय भाषामा मंगलग्रहको ‘अपोजिशन’ भनिन्छ । यो घटना हरेक २६ महिनामा हुन्छ ।
नासाका अनुसार मंगल ग्रह र पृथ्वी हरेक २६ महिनामा नजिक आउँछन् । यसको अर्थ सन् २०२२ को डिसेम्बरमा पनि दुई ग्रह नजिक आउने छन्।मंगलग्रहको अपोजिशन मंगलबार हुँदै गरेको भए पनि गएको मंगलबार अर्थात अक्टोबर ६ मै मंगलग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो । त्यसबेला दुई ग्रहबिचको दूरी ३८.६ मिलियन माइल थियो ।
अब सन् २०३५ सम्म मंगलग्रह पृथ्वीको यति नजिक आउने छैन । यसअघि सन् २००३ मा मंगलग्रह र पृथ्वीबिचको दूरी ३४.८ मिलियन माइल भएको थियो, जुन ५९ हजार ६१९ वर्षमा सबैभन्दा नजिक आएको घटना थियो मंगलग्रह पृथ्वीको । अब २२८७ वर्षसम्म यति नजिक आउने छैन । यो घटनालाई खगोल विज्ञानमा ‘मार्स क्लोज एप्रोच’ भनिन्छ ।
मंगलबार बेलुका हुने अपोजिशनको अवलोकन गर्दा मंगलग्रह ठूलो र चम्किलो देखिने छ। यो घटनामा पृथ्वी मंगल ग्रह र सूर्यको बिचमा पर्ने छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार त्यसक्रममा मंगल ग्रहले पृथ्वीको एक पक्षमा घाम छेक्ने छ । यो नेपाली समय अनुसार राति १ बजेर ४५ मिनेटमा हुनेछ ।
मंगल ग्रह र पृथ्वीले पूर्ण वृत्तमा परिक्रमा गर्दैनन् । उनीहरुको परिक्रमा चक्र ओभल जस्तो छ। उदाहरणका लागि पृथ्वीले सूर्यलाई परिक्रमा गर्नका लागि ३६५ दिन लगाउँछ । मंगल ग्रहलाई परिक्रमा पूरा गर्नका लागि ६८७ दिन लाग्छ । जब पृथ्वी सूर्यको नजिक पुग्छ तब मंगल ग्रह पर जान्छ ।
राति घर बाहिर निस्किएर आकासमा हेरेमा अलि ठूलो ताराजस्तो चम्किलो वस्तु अवश्य देखिन्छ ।
खगोल फोटोग्राफर ड्यामियन पिचले बीबीसीसँग भनेका छन्, ‘यसलाई हेर्न मध्यरात कुर्नु पर्दैन । रात पर्नासाथ अति चम्किलो तारा जस्तो वस्तु आकाशमा सजिलै देखिन्छ । तपाईं झुक्किनु हुने छैन ।’
यदि मंगल ग्रहलाई अझ राम्रोसँग हेर्न चाहेमा आफ्नो घर नजिकको एस्ट्रोनोमी सेन्टरमा गएर टेलिस्कोपबाट हेर्न सकिने खगोलशास्त्रीहरु बताउँछन् । मंगलबारको मंगल ग्रहको दृष्य खास मानिएको छ । किनभने यसको अवस्थितिको उचाइ फोटो खिच्नका लागि उपयुक्त हुने खगोल फोटोग्राफर डियामियन बताउँछन् ।
ग्रहहरु आ–आफ्नो कक्षमा परिक्रमा गरिरहेका हुन्छन् । यो कक्ष अन्डाकार हुने भएकाले एक विन्दुमा मंगल ग्रह र पृथ्वी नजिक आउँछन् । र फेरि घुम्दै एकअर्काबाट टाढा पुग्छन् ।
हरेक दुई वर्षमा मंगल ग्रह र पृथ्वी नजिक हुने हुँदा मंगल ग्रहमा जाने मिसन यही मौका पारेर पठाइन्छ । किनभने अन्तरीक्ष यात्राको दुरी कम हुन्छ, थोरै इन्धन र थोरै समयमै मंगल ग्रहमा पुग्न सकिन्छ ।
अहिले मंगल ग्रहका तीन वटा मिसन सक्रिय छन्– युएईको होप ओर्बाइटर, चीनको तियानमेन अर्बाइटर एण्ड रोबर र अमेरिकाको पर्सिवियरेन्स रोबर । यी तीनवटै मिसन गत जुलाई महिनामा मंगल ग्रहमा पठाइएको थियो । युएई, चीन र अमेरिकाको यो मिसन सन् २०२१ को फेब्रुअरीमा मंगल ग्रहमा पुग्ने छ ।