युरोकपमा युक्रेनको पहिलो जित

होमल्याण्ड खबर

२०७८ असार ४ गते, शुक्रबार ०७:१६ मा प्रकाशित

युरोकप फुटबलमा युक्रेनले पहिलो जित निकालेको छ । रोमानियाको नेसनल एरिनामा बिहीबार भएको खेलमा नर्थ म्यासेडोनियालाई २–१ गोलले हराउँदै युक्रेनले पहिलो जित निकालेको हो ।

युक्रेनका लागि एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक–एक गोल गरेका थिए । नर्थ म्यासेडोनियाका एजान एलिओस्कीले एक गोल फर्काएका थिए ।

खेलको २९औँ मिनेटमा युक्रेनका यार्मोलेन्कोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै ३४औँ मिनेटमा यारेमचुकले गोल गर्दै युक्रेनको अग्रतालाई दोब्बर बनाए ।

तर, ५७औँ मिनेटमा नर्थ म्यासेडोनियाका एलिओस्कीले गोल गर्दै खेललाई २–१ गोलको स्थितिमा ल्याए । त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक भएको खेलमा दुवै पक्षबाट थप गोल नहुँदा युक्रेन २–१ गोलले विजयी भयो । यो जितसँगै समूह ‘सी’  मा रहेको युक्रेन २ खेलबाट ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।  पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोलले पराजित भएको थियो । नर्थ म्यासेडोनिया अंकविहीन हुँदै समूहको पुछारमा छ ।