काबुल विस्फोट : १३ अमेरिकी नागरिकको मृत्युपछि आक्रमणकारीसंग बदला लिने बाइडेनको चेतावनी

होमल्याण्ड खबर

२०७८ भाद्र ११ गते, शुक्रबार ११:२९ मा प्रकाशित

एजेन्सी । अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेश द्वारमा भएको दुई शक्तिशाली आत्मघाती बम विस्फोटमा परी १३ अमेरिकी नागरिकको मृत्यु भएको छ । त्यसमध्ये १० अमेरिकी सेना भएको सिएनएनले जनाएको छ ।

बीबीसीले भने घटनामा १२ जना अमेरिकी सेना मारिएको जनाएको छ । अमेरिकी मरिन कर्पका प्रवक्ता मेजर जिम स्टेनजरले विस्फोटमा परी १८ जना घाइते भएको बताएका छन ।

काबुल एयरपोर्ट हमलाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ । टेलिग्राम एकाउन्टमार्फत इस्लामिक स्टेटले हमलाको जिम्मेवारी लिएको रोयटर्सले जनाएको छ ।

तालिबानका प्रवक्ताले रोयटर्सलाई बताए अनुसार आक्रमणमा घाइते भएकामध्ये तालिबान गार्डसहित बालबालिका पनि रहेका छन ।
तालिबानले काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको बम विष्फोटको निन्दा गरेको छ ।

अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले अतंककारीलाई नछाड्ने बताएका छन । घटनापछि ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा उनले भने, ’जसले यो घटना घटायो, जसले अमेरिकालाई क्षति गर्छु भनेर सोच्छन् भने हामी छाड्नेछैनौ, हामी विर्सनेछैनौ ।’

बाइडेनले बदला लिने चेतावनी समेत दिए ।