अमेरिकाले २० वर्षपछि पूर्णरुपमा अफगानिस्तान छाड्यो, अन्तिम उडानमा राजदुत र सैनिक कमान्डर

होमल्याण्ड खबर

२०७८ भाद्र १५ गते, मंगलवार १०:२१ मा प्रकाशित

अमेरिकाले झण्डै २० वर्षपछि पूर्णरुपमा अफगानिस्तान छाडेको छ । यसअघि तालिबानले विदेशी सेना फिर्ताको लागि समयसीमा तोकेकै दिन अगष्ट ३१ मै अमेरिका पूर्णरुपमा फिर्ता भएको हो । अफगानिस्तानको राजधानी काबुलबाट अमेरिकी राजदूत रस विल्सन र अमेरिकी कमाण्डर जनरल क्रिश डोनाह्यु गएरातिको अन्तिम उद्धार उडानमा सहभागी भएको बीबीसीले जनाएको छ ।

अमेरिकाको अन्तिम उद्धार उडानअन्तर्गत काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सी–सेभेन्टीन विमान उडेलगत्तै तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर र मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमाण्डका प्रमुख जनरल फ्र्याङ्क मकेन्जीले पेन्टागनमा आयोजित प्रेस ब्रिफिङमा सन् २००१ को सेप्टेम्बर ११ देखि अफगानिस्तानमा सुरु भएको युद्ध पूर्णरुपमा बन्द भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी फौज फिर्ता हुन थालेदेखि नै तालिबान समूहले अफगानिस्तान कब्जा अभियानलाई तीव्र पारेको थियो । तालिबान लडाकुहरु राजधानी काबुल प्रवेश गरेलगत्तै त्यहाँका राष्ट्रपति असरफ घानीले देश छोडेका थिए । त्यसपछि सुरु भएको उद्धार उडानको क्रममा अमेरिकाले १ लाख २३ हजार अफगान नागरिकलाई उद्धार गरेको जनाएको छ ।

११ सेप्टेम्बर २००१ मा अमेरिकामा हवाई हमला भएपछि त्यसको बदलास्वरुप अमेरिकाले अफगानिस्तानको तालिबानी सत्तालाई निशाना बनाएको थियो । त्यसपछि अमेरिकाले अफगानिस्तान छाड्न २० वर्ष लाग्यो । यसक्रममा आफ्ना २४ सयभन्दा धेरै सैनिक मारिएका म्याकेन्जीले बताए । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले फौज फिर्तीबारे मङ्गलवार अमेरिकी जनतालाई सम्बोधन गर्दैछन् ।