काबुलमा महिलाहरुको प्रदर्शन, तालिबानले गरे हस्तक्षेप

होमल्याण्ड खबर

२०७८ भाद्र २० गते, आईतवार १२:१५ मा प्रकाशित

 अफगानिस्तानको राजधानी काबुलमा महिलाहरुले गरेको प्रदर्शनमा तालिबान अधिकारीले हस्तक्षेप गरेका छन् । अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि महिला अधिकारको क्षेत्रमा भएका प्रगतिहरु संकटमा आएको भन्दै विश्वभर चासो र चिन्ता व्यक्त भइरहेको छ ।

यहि बिचमा अफगानिस्तानका अधिकारवादी महिलाहरुले काबुलमा अधिकारको माग गर्दै प्रदर्शन गरेका हुन् । महिला अधिकारवादी समूहले आफूहरुको प्रदर्शनमा तालिबानले अश्रु ग्यास र पेपर स्प्रे प्रहार गरेको बताएका छन् । महिलाहरुको समूह राष्ट्रपति भवन तर्फ जानका लागि पुल तर्दै गरेका बेला तालिबानका अधिकारीले हस्तक्षेप गरेका हुन् ।

तर तालिबानले भने प्रदर्शन नियन्त्रण भन्दा बाहिर गएको बताएको अफगान सञ्चारमाध्यम टोलो न्यूजले जनाएको छ । पछिल्ला दिनमा काबुल र हेरातमा महिलाहरुले अधिकारको माग गर्दै प्रदर्शन गर्दै आएका छन् । महिलाहरुले काम गर्न पाउनु पर्ने र सरकारमा आफूहरुको पनि सहभागिता हुनु पर्ने माग गर्दै आएका छन् । तालिबानले महिलाहरु सरकारमा सामेल हुन पाउने तर मन्त्री पद भने नदिइने बताएको छ ।