९ मंसिर २०८१, आईतवार
बाटोप्रतिको बेवास्ता
काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झै गर्न पर्नेले आफ्नो जिम्मेवारी पूरा नगरे पछि सर्वसाधारणले सास्ती सहनु परेको छ । काठमाण्डौंमा सार्वजनिक सडक ममर्त तथा निर्माणको लागि जिम्मा लिन तछामछाड नै चल्छ । जब जिम्मा प्राप्त हुन्छ, त्यस पछि यो पत्तालगाउन कठिन हुन्छ कि, त्यो ठेक्का बनाउन लिएको कि बिगार्न ? अवस्था एकिन हुनै नसक्ने भएको छ ।
कलंकी–नागढुङ्गा होस् वा बल्खु–कलंकी बर्षौ बितिसके पनि सर्वसाधारणकालागि सकसको मात्रा घटेको छैन बरु विभिन्न बहनामा थपिएका छन् । लामो समयदेखि स्थानीय निकायको नेतृत्व नभएको बताउने सडकविभाग तथा महानगर अब सबै जिम्मेवारी स्थानीय निकायको भन्दै पन्छिन्छ । स्थानीय निकायको कार्यशैली सार्वजनिक चासो र सरोकारको विषयमा भन्दा पनि कर संकलन गर्ने र तलव भत्ता बढाउनेमा चिन्तनशील देखिन्छ । मानौ, चुनावमा खर्चिएको ऋण तिर्नुछ ।
विलम्वको विम्व बनेको बाटो
काठमाण्डौं महानगर पालिका १४को वडा कार्यलयबाट झण्डै चालीसै मीटर दक्षिणमा पर्ने बाटोको हालत । वर्षांै भयो चलिरहेको बाटो बिगारेको । बाटो ठूलो बनाउने नाममा हुने जति विजोग र अवरोध सबै यही देख्न पाइन्छ ।
ट्राफिक महानगरिय कार्यलयबाट खटिएका ट्राफिक जवान दैनिक सयभन्दा बढी गाडी फस्ने गरेको जानकारी दिन्छन् । हरेक सिफ्टमा ३–४ जनाको टोली परिचान गरी गाडी आवतजावतको व्यवस्था मिलाएको छ । आवश्यक साधन श्रोतको अभावमा ती ट्राफिक जवान रनभुल्ल देखिन्छन् । ड्युटीमै खटिएका ट्राफिक राजेश अधिकारीले भने, ‘बाटोमा कुनै डोजर देखिए अनुरोध गर्ने हो । फसेका गाडीका लागि हामीसँग अरु केही विकल्प छैन् ।’ स्मरणीय छ, यो ठाँउमा दैनिक सयौं गाडी फसेर बाटो अवरोध हुने गरेका छ । साना गाडीका मेसिनरी भाग डुङ्गा र माटोमा ठोकिने कारण बिग्रने घटना पनि बढिरहेको छ ।
महानगर सडक होइन जग्गामा केन्द्रित
चौतर्फी आलोचना खेपिरहेको शाक्य नेतृत्वको कामनपाले नाम अनुसार, काम नै नपाएको गुनासो व्याप्त भएको बेला करिब ४० रोपनी जग्गा आफ्नो मातहत ल्याएको दावी गरेको छ । तर सुकुम्वासी बस्तीमा रहेको अतिक्रमित जग्गालाई वास्ता नगरेर कामनपाले उक्त जग्गालाई बैधानिक सरह मान्यता दिन खोजेको नगरबासीको गुनासो रहेको छ ।
महानगरका अनुसार, पहिलो चरणमा खाली गरिएका जग्गा वडा नम्बर ३ अन्तर्गतका हुन् । विभिन्न संघसंस्थाले अनधिकृत भोगचलन गर्दै आएका ती जग्गा अब सार्वजनिक प्रयोगमा आउने गरी व्यवस्थापन सुरु गरिएको वडा कार्यालयले जनाएको छ ।
अतिक्रमित जग्गा खाली गरेर महानगरको स्वामित्वमा ल्याएका बताउदै ३ नम्बर वडाध्यक्ष दीपक केसीले भने, ‘अब त्यसलाई उपयोगी रुपमा अघि बढाउने छौ’ ।
करिब १७ वर्षदेखि काठमाडौं गेस्ट हाउसले ओगेटेको साढे ६ आना जग्गा खाली गरेर यो अभियान सुरु भएको थियो । त्यहाँ बनेको दुईतले घर भत्काएर महानगरले यो जग्गामा पार्क बनाउने तयारी गरेको छ ।
घर भत्काउन मेयर शाक्य आफैं उपस्थित भए पनि सुकुम्बासी बस्तीमा अतिक्रमित जग्गा के गरिन्छ भन्ने बारेमा शाक्यले केही बताउन चाहेका छैनन् । वडा नम्बर ३ अन्तर्गत लाजिम्पाट, पानीपोखरी, रानीबारी, महाराजगञ्ज, बसुन्धरा, बाँसबारी, हात्तीगौडा, गल्फुटार लगायत क्षेत्रमा ओगटिएका महानगरले आफ्नो मातहत ल्याएको जनाएको छ । बाँसबारीमा विश्व हिन्दु महासंघ र गायत्री परिवारले ओगटेको २२ रोपनी, धारापाटीमा १६, गजेन्द्र बस्तीमा १, चिरन मिलन विश्वशान्ति क्याम्पसले ४ रोपनी लगायत अन्य विभिन्न संघ–संस्थाले भोग चलन गरेको सार्वजनिक जग्गा मिचेको फेला परेको पनि कामनपाले जनाएको छ ।