३० फाल्गुन २०८२, शनिबार
धनुषाको जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना सदस्य निर्विरोध निर्वाचित भएका छन । जिल्ला र समावेशी सूची अन्तर्गतको निर्धारित कोटामा एक-एक जनाको मात्र उम्मेद्वारी परेकाले पाँचजना सदस्य पदमा निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन समितिले जनाएको छ ।
निर्विरोध हुनेमा जिल्लाबाट प्रदेश सदस्य खुल्लामा सप्तरीका आशाराम चौधरी, महिला सदस्यमा सप्तरीकी बिमलादेवी साह, महोत्तरीकी उषा देवकोटा र पर्साकी किरणकुमारी शर्मा निर्विरोध भएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिएका छन ।


त्यस्तै प्रदेश सदस्य आदिवासी जनजातिबाट मनमाया तामाङ निर्विरोध भएको निर्वाचन संयोजक गौतमले बताएका छन। प्रदेश सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत बाँकी पदका लागि आज दिउँसो २ः३० बजेपछि मतदान हुने जनाइएको छ ।
अन्तिम नामावली प्रकाशन भएपछि अहिले मतपत्र छपाउने काम भइरहेको र त्यो सकिएपछि मतदान सुरु हुने निर्वाचन समिति संयोजक गौतमले बताएका छन।
पार्टीको प्रदेश २ को नयाँ नेतृत्वका लागि कांग्रेस रौतहटका सभापति कृष्णा यादव र प्रदेश– २ संसदीय दलका नेता रामसरोज यादवबीच प्रतिस्पर्धा हुँदै छ।
प्रदेश समितिको विभिन्न ७२ पदका लागि १७४ जनाको उम्मेद्वारी परेको छ। जसमध्ये ६ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ। प्रदेश २ का ८ जिल्लाको ३२ सङ्घीय निर्वाचन क्षेत्र र ६४ प्रदेश निर्वाचन क्षेत्र समेत गरी दुई हजार मतदाता रहेको जनाइएको छ।