१० मंसिर २०८१, सोमबार
बंगलादेश शुक्रबार बिहान एउटा फेरिमा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।
बंगलादेशको प्रहरीले अहिलेसम्म ३६ जनाको शव निकालेको र मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ । आगोले जलेका झन्डै एक सय जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।
केही मानिसहरू अझै हराइरहेका छन् । फेरिको इन्जिनबाट आगलागी सुरू भएको बताइएको छ । फेरिमा आगो लागेपछि केही यात्रुले ज्यान जोगाउन नदीमा हाम फालेका थिए ।
समाचार संस्था एएफपीका अनुसार राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहर नजिकै सुगन्धा नदीमा स्थानीय समयअनुसार बिहान तीन बजे उक्त आगलागी भएको हो ।
तीन तले फेरिमा झन्डै पाँच सय मानिस सवार थिए । तीमध्ये धेरैजसो ढाकाबाट आफ्नो गाउँ फर्किँदै थिए।