विराेधका कारण एप्पलले रोक्यो भारतस्थित आईफोन उत्पादनको काम

होमल्याण्ड खबर

२०७८ पुष १५ गते, बिहीबार १२:३३ मा प्रकाशित

विषाक्त खानालाई लिएर फ्याक्ट्रीमा लामो समय देखी प्रर्दशन नरोकिएसँगै एप्पलले दक्षिण भारतमा रहेको आफ्नो फ्याक्ट्रीको काम तत्कालका लागि रोकेको छ । यसअघि विषाक्त खानाका कारण उक्त फ्याक्ट्रीमा काम गर्ने २५० महिला कर्मचारी बिरामी परेका थिए । भने, त्यसमध्ये १५० जनालाई अस्पतालमा भर्ना नै गर्नु परेको थियो ।

त्यसैलाई लिएर १२ दिन अघि अर्थात डिसेम्बर १८ बाट सुरुभएको विराेध प्रर्दशन अझै चलिरहेको छ । यस्तोमा एप्पलको फ्याक्ट्री सञ्चालन गर्ने ताइवानी कम्पनी ‘फक्सकन’ ले माफी माग्दै आफूहरूले घटनाको विषयमा अध्ययन गरिरहेको बताएको छ ।‘हामी यो घटनालाई लिएर सबै सँग माफी माग्छौं,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी यसमा तत्कालै आवश्यक कदम चाल्दै सेवालाई अझ व्यवस्थित र प्रभावकारी बनाउने छौ ।’

हुन त उक्त फ्याक्ट्री गएको डिसेम्बर १८ बाटै बन्द छ । यस्तोमा एप्पलले समस्या समाधान नहुदाँ सम्म फ्याक्ट्री बन्द रहने जानकारी गराएको हो ।

‘खाना तथा बासस्थानको विषयमा देखिएको समस्याको विषयलाई लिएर हामीले हाम्रो स्वतन्त्र अडिटर मार्फत अध्ययन गराएको थियौं,’ एप्पलले भनेको छ, ‘जसमा डाइनिङ रुम र छात्रावास हाम्रो मापदण्ड अनुसार नभएको पाइएको छ । यस्तोमा हामी तत्कालै सप्लायर्समार्फत यसको व्यवस्थापन मा काम गरिरहेका छौं ।’

एप्पलले भारतमा सञ्चालनमा ल्याएको उक्त फ्याक्ट्री ४० किलोमिटरमा फैलिएको छ । जहाँ १७ हजार कर्मचारी कार्यरत रहेका छन् । यस्तोमा तमिल नाडु सरकारले पनि फक्सकनलाई कर्मचारीको सुविधाको विषयमा तत्कालै समीक्षा गर्न निर्देशन दिएको छ ।