केपी ओलीले नारायणहिटी व्यापारीलाई भाडामा दिएको नेपालको आरोप

होमल्याण्ड खबर

२०७८ पुष २३ गते, शुक्रबार १५:४४ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नारायणहिटी संग्रहालयलाई आफूले ग्रान्ड म्युजियम बनाउने प्रस्ताव गरेको तर केपी ओलीले ब्यापारीलाई भाडामा दिएको आरोप लगाएका छन् । नेकपा एकीकृत समाजवादीको काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नारायणहिटी संग्रहालयमा कसैलाई पनि व्यापार गर्न नदिने बरु ठूलो म्युजियम बनाउने अबधारणा अघि सारेको बताएका हुन्।

‘मैले नारायणहिटीमा कुनै पनि पसल नराखौँ भनेको थिएँ, केपी ओलीले गर्न दिएनन्, व्यापारीलाई त्यहाँ रेस्टुरेन्ट खोल्न दिएर भ्रष्टाचारलाई प्रोत्साहन दिने काम गरे,’ उनले भने । साथै उनले आफू प्रधानमन्त्री हुँदा वि।सं। २०६६ सालमा काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाकको शुरु गरेको तर केपी ओलीले प्रधानमन्त्री भएपछि त्यसलाई अगाडि बढ्न नदिएको पनि आरोप लगाए ।

उनले भने, ‘५५ मिनेटमा पुग्ने फास्ट ट्रयाक छिटो बनोस्, निजगढ विमानस्थलको काम पनि छिटो शुरु होस् भनेको थिएँ तर केपी ओली प्रधानमन्त्री भएपछि माधव नेपालले शुरु गरेको भन्दै बन्नै दिन्न भनेछन्,’ उनले भने ।