१० मंसिर २०८१, सोमबार
एजेन्सी । जर्मनीमा अहिले दिन प्रतिदिन कोभिड १९ का सङ्क्रमितहरु बढ्दै गएको पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुराको जानकारी दिएका छन् । ती अधिकारीहरुका अनुसार बुधबार मात्र यहाँ त्यस अघिको २४ घन्टामा ८० हजार ४३० जना संक्रमित भेटिएका छन् ।
यो संख्या यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै एकै दिनमा देखिएको यो सबैभन्दा धेरै संख्या हो । यहाँका अधिकारीहरुले जर्मनीमा ठूलो संख्याका नागरिकले खोप लगाइसकेको बताएका छन् । उनीहरुका अनुसार यहाँ ७२ प्रतिशतभन्दा बढी नागरिकले दुवै मात्रा खोप लगाएका छन् ।
त्यस्तै यहाँका करिब तीन करोड ७० लाख नागरिकले खोपको बुस्टर डोज पनि लगाएका छन् । तर पनि पछिल्लो समयमा यहाँका ठूलो संख्याका नागरिकमा सङ्क्रमण बढ्दै गएको पाइएको छ । उता युरोपका धेरै देशमा पछिल्लो समयमा कोरोनाको सङ्क्रमण बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको छ । सो संगठनले आगामी आठ साताभित्र यूरोपको आधाभन्दा बढी जनसंख्यामा कोभिड सङ्क्रमित हुने चेतावनी दिएको छ ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा सङ्क्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओले बताएको छ ।