नेपालको प्रगति र समृद्धिमा भारतको सहकार्य रहिरहन्छ : राजदूत क्वात्रा

होमल्याण्ड खबर

२०७८ माघ १२ गते, बुधबार १४:०१ मा प्रकाशित

काठमाडौंस्थित भारतीय राजदूतावासमा आज भारतको ७३ औं गणतन्त्र दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भएको थियो । त्यसपछि उनले भारतका माननीय राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम् नातेदारलाई नेरु ६.३५ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरेका छन् । सो अवसरमा राजदूत क्वात्राले नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्य रहिरहने बताए ।

राजदूत क्वात्राले शुभकामना सन्देशमा नेपालको प्रगति, समृद्धि र विकासका साथै, द्विपक्षीय सम्बन्धको विकासमा भारतले बलियो आधार प्रदान गरेको बताए । ‘सन् २०२१ मा भएका केही उच्चस्तरीय राजनीतिक भेटघाटले भारत–नेपाल साझेदारीलाई महत्वपूर्ण गति प्रदान गरेको छ,’ उनले भने ।

दूतावासका अनुसार यसवर्ष नेपालका प्रदेश तथा जिल्लामा भारतको सहयोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरु यसैवर्ष उद्घाटन गर्ने योजना छ । नेपालभरिका विभिन्न संस्था तथा स्थानीय निकायलाई दूतावासले ७५ वटा एम्बुलेन्स र स्कूल बस उपहारस्वरुप प्रदान गर्नेछ ।