१ चैत्र २०८२, आईतवार
मधेसमा जनमत निर्माणको भगिरथ कोसिसमा लागिरहेको सिके राउत नेतृत्वको जनमत पार्टी आजदेखि फेरि राजमार्ग केन्द्रीत आन्दोलनमा उत्रेको छ । केही दिन यता उसको आन्दोलन तराईमा कमजोर बन्दै गईरहेका बेला आजदेखि फेरि उसले पुनः पूर्व–पश्चिम राजमार्ग बन्द गराएको छ ।
मधेसमा उसले आफनो जनमत बलियो बनाउने प्रयासमा विभिन्न खालका आन्दोलन गरिरहेको छ । अहिले उसले किसानका माग लिएर आन्दोलन गरिरहेको छ । किसानलाई मलखाद समयमा उपलब्ध गराउनुपर्ने, सिंचाईको व्यवस्था वा कृषि विजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेर जनमत पार्टी एक महिनादेखि आन्दोलनरत छ ।


आज विहानैदेखि राजमार्ग जनमत पार्टीको बन्दका कारण पूर्व पश्चिम राजमार्ग सुनसान देखिएको छ । केहि स्थानीयबाहेक लामो दूरीका सवारी चल्न सकेका छैनन् । राजमार्ग अन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी लगायतका ठाउँमा जनमतका कार्यकर्ताले सवारी आवागमनमा अवरोध गरेका छन् । अहिलेसम्म तोडफोड र आगजनीका घटना भएको छैन । तर, पूर्वघोषित राजमार्ग बन्दको अवज्ञा गर्ने सवारी साधनमा तोडफोड र आगजनी गर्ने चेतावनी जनमतका कार्यकर्ताहरुले दिएका छन् । राजमार्ग खुलाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् ।