१ चैत्र २०८२, आईतवार
सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै छ । एमसीसीबारे चर्को विवाद भएपछि छलफलको लागि बैठक बोलाएको हो । बैठक सोमबार दिउँसो १ बजे बस्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवाडाले बताएका छन् ।
यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो । पार्टीका सम्मानित नेता झलनाथ खनालले भने एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए ।


नेता खनालले आइतबारको संसद बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गरेका थिए । शनिबारको स्थायी कमिटी बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दुई पटक विज्ञप्ति निकालेका थिए ।
खतिवडाले पहिला निकालेको विज्ञप्तिमा एमसीसी संशोधनबिना अगाडि बढाउन नसकिने पूर्ववत् अडान कायमै रहेको र थप निर्णय गर्नुपर्ने अधिकार सचिवालयलाई दिइएको विज्ञप्तिमार्फत उल्लेख गरेका थिए ।
अर्को वक्तव्यमा संसद अवरोध हटेर दलहरुबीच राजनीतिक सहमति जुटेमा एमसीसी पेश गर्न तयार भएको उल्लेख थियो ।