९ मंसिर २०८१, आईतवार
क्यानाडाले रुसी कच्चा तेलको आयातमा प्रतिबन्ध लगाउने भएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसी कच्चा तेल आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । रुसी तेलले भ्लादिमिर पुटिन र उनका धनाढ्य साझेदारहरुलाई फाइदा पुगिरहेको भन्दै तेल आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।
युक्रेनमाथि रुसी आक्रमण जारी रहँदा विश्व भरबाट निन्दा र आर्थिक एवम् कूटनीतिक एक्लोपन खेपिरहेको रुसमाथि क्यानाडाको पछिल्लो कदमले अझ दबाब सिर्जना गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
क्यानाडाले गत वर्ष मात्रै झण्डै २९ करोड क्यानेडियन डलर बराबरको रुसी तेल आयात गरेको थियो ।
रुसी तेलले क्यानाडाको तेल आपुर्तिको सानो हिस्सा मात्रै ओगट्ने भएकाले रुसी प्राकृतिक ग्यासमा निर्भर युरोपले यस्तै किसिमको प्रतिबन्ध लगाउने सम्भावना भने नरहेको बीबीसीले जनाएको छ ।
पश्चिमा मुलुकहरुले यसअघि रुसका बैंकहरुमाथि प्रतिबन्ध लगाएपनि पेट्रोलियम क्षेत्रमाथि प्रतिबन्ध लगाउन आनाकानी गरिरहेका थिए । रुसले विश्व तेल उत्पादनको १० प्रतिशत हिस्सा ओगट्छ ।