कांग्रेसको चितवन नेतृत्वका लागि मतदान सुरु, संस्थापन इतरकै चार उम्मेदवारी

होमल्याण्ड खबर

२०७८ फाल्गुन २० गते, शुक्रबार ११:१६ मा प्रकाशित

नेपाली कांग्रेस चितवनको १४औँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्वको आज शुक्रबार बिहानबाट मतदान सुरु भएको छ । नारायणगढको नारायणीकला मन्दिरमा भर्खरै मतदान सुरु भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका मिलनबाबु श्रेष्ठ र संस्थापन इतरका ४ जना गरी ५ जनाले जिल्ला सभापतिमा उम्मेदवारी दिएका छन् ।

संस्थापन इतरमा उत्तम जोशी, राजेश्वर खनाल, डा सूर्यकान्त घिमिरे र कैलाश कोइराला छन् । सभापतिका लागि उम्मेदवारले ५० प्रतिशत भन्दाबढी मत ल्याउन सकेनन् भने दोस्रो चरणको मतदान हुने छ ।

त्यस्तै, दुई जना उपसभापतिका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । शालिक शर्मा पौडेल, सुरवीर पोखरेल, उद्धव लोहनी, महेश बानियाँ, हेमलाल भट्टराई, राजेन्द्र डोटेल, रघुनाथ भट्ट, भुवन खनाल, मोहितजंग पाण्डे, निलमणि पाठक, तेजप्रसाद अधिकारी, राजन गौतम, बुद्धिबहादुर गुरुङ, निर्मलकुमार श्रेष्ठ र राजीव न्यौपानेले उम्मेदवारी दिएका छन् ।

दुई सचिवका लागि आठ जना र दुई सहसचिवका लागि १० जनाले उम्मेदारी दिएका छन् । जिल्ला निर्वाचन समितिका संयोजक अधिवक्ता ज्ञानेन्द्रप्रसाद अधिकारीले ४१ कार्यसमिति सदस्यका लागि १२२ जनाले उम्मेदवारी दिएका छन् । महासमिति सदस्यतर्फ ३२ पदमा ३६ जनाको उम्मेदवारी परेको छ ।