युरोपतर्फ ग्यास निकासी ठप्प पार्ने रुसको चेतावनी

होमल्याण्ड खबर

२०७८ फाल्गुन २४ गते, मंगलवार १३:१० मा प्रकाशित

रुसले पश्चिमा मुलुकहरूले आफ्नो तेलमाथि प्रतिबन्ध लगाए युरोपतर्फ ग्यास निकासी ठप्प पार्ने चेतावनी दिएको छ । रुसी उपप्रधानमन्त्री अलेक्जाण्डर नोभाकले राष्ट्रिय टेलिभिजनमार्फत यस्तो चेतावनी दिएका हुन् ।

उनका अनुसार रुसी तेलमाथि प्रतिबन्ध लगाएको खण्डमा अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ दोब्बरभन्दा धेरै बढेर ३ सय डलर प्रतिब्यारेलसम्म पुग्नसक्ने उनको चेतावनी छ । युक्रेनमाथि आक्रमण गरेको रुसलाई सजाय दिन भन्दै अमेरिकाले रुसी तेलमाथि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको समाचार आइरहेका बेला रुसले चेतावनी दिएको हो ।

‘हामीसँग पनि यस्तै निर्णय लिई नोर्डस्ट्रिम ग्यास पाइपलाइनमार्फत जाने ग्यासमाथि नाकाबन्दी लगाउने सम्पूर्ण अधिकार छ ।’ उनले भने, ‘रुसी तेललाई अस्वीकार गर्दा विश्व बजारमा भयानक परिणाम आउने छ ।’ यद्यपि जर्मनी र नेदरल्याण्ड्ससहितका युरोपेली देशहरुले अमेरिका अमेरिकी योजना अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

युरोपले आफूलाई चाहिनेमध्ये ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल रुसबाट आयात गर्छ । विश्व बजारमा तेलको भाउ अकासिएका बेला रुसबाट यस्तो प्रतिक्रिया आएको हो । सोमबारमात्रै ब्रेन्ट क्रुडको बजारमा तेलको भाउ बढेर १३९ डलर प्रतिब्यारेलसम्म पुगेको थियो ।