निर्वाचन आयोगमा सर्वदलीय बैठक जारी

होमल्याण्ड खबर

२०७८ फाल्गुन २७ गते, शुक्रबार १२:४७ मा प्रकाशित

निर्वाचन आयोगमा सर्वदलीय बैठक सुरु भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी गराउन आयोगले सर्वदलीय बैठकको आह्वान गरेको हो ।

बैठकमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर छलफल थालिएको आयोगले जनाएको छ। प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बैठकमा राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्यप्रगति जानकारी गराउँदै अपेक्षाबारे रायसुझाव लिइने छ।

निर्वाचन घोषणा भएको करिब एक महिना भएकोमा यस अवधिमा आयोगबाट भएका क्रियाकलाप बारे राजनीतिक दललाई आयोगले बैठकमा जानकारी गराउने छ। र, त्यसका साथै आयोगसँग दलका अपेक्षाका विषयवस्तुबारेमा छलफल तथा अन्तरक्रिया गरी रायसुझाव लिने कार्य हुने आयोगले जनाएको छ।

आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएकोमा ७९ दल मात्र दर्ता भएका छन्।

आयोगका प्रवक्ता पौडेलका अनुसार ऋषि कट्टेल नेतृत्वको एउटा दल दर्ता सकेन। उक्त दलको आवश्यक प्रक्रिया नपुगेकाले दर्ता अस्वीकार भएको पौडेलले बताए।