कांग्रेसकाे उम्मेदवार वर्कसहरुले चिनेको हुनुपर्छ : प्रकाशमान सिंह

होमल्याण्ड खबर

२०७८ चैत्र १ गते, मंगलवार १३:२५ मा प्रकाशित

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताएका छन् । मंगलवार नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।

उनले हरेक निर्वाचनमा चाप्लुसी गर्ने व्यक्तिहरुले उम्मेदवारी पाउने गरेकोप्रति लक्षित गर्दै आफ्ना मान्छेहरूलाई स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनमा उम्मेदवार बनाउने परिपाटीका कारण सिंगो पार्टीलाई असर परिरहेको बताए ।

नेता सिंहले स्थानीय तहको निर्वाचनमा हरेक वडा तथा पालिकामा उम्मेदवार छनोट गर्दा सकेसम्म सर्वसम्मत हुनुपर्ने र सर्वसम्मत हुन नसके वडा तथा पालिकाहरुमा छाप छोडेको व्यक्तिलाई उम्मेदवारमा छनोट गर्नुपर्ने धारणा राखे ।

नेता सिंहले भने, ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने अभियान शुरु भइसकेको छ । यसमा पार्टीका सबै नेता कार्यकर्ताले यस पटक आउने स्थानीय निर्वाचन संघीयतालाई कार्यान्वयनमा लैजानका लागि र संघीय, प्रान्तीय सरकार र स्थानीय सरकारको महत्व हो जनतासमक्ष पुर्याउनका लागि यो महत्वपूर्ण निर्वाचन हुन गइरहेकोले यसमा कांग्रेसले उम्मेदवार सेलेक्शन गर्दा पार्टीको विधान, नियमावलीको बाटो देखाएको छ ।’

उनले भने, ‘वडा वडाबाट, टोल टोलबाट वडालाई उम्मेदवार छान्दा कांग्रेसी सबैले विधानले भनेका कुराहरुलाई पालना सबैले गर्नुपर्छ । सिफारिस गर्दा एक महिलासहित ३ जना सम्भावित उम्मेदवारहरूलाई सिफारिस गर्नुपर्छ । कांग्रेसमा देखापरेको कस्तो हो भने कोही सबैको प्रियपात्र हुन खोज्ने, विधि विधानअनुसार पालना नगराउने भन्ने तीन जनाको सिफारिस १५/२० जना पठाएपछि कहाँबाट राम्रोसँग हुन्छ ।

त्यसकारण पार्टीको विधानले जे भनेको छ, सिफारिस गर्ने कमिटीले १ महिलासहित तीन, सर्वसम्मत भए सर्वसम्मतबाट नभए तीन जनाको नाम सिफारिस गर्ने, समितिहरु, इकाईहरु त्यसमा केन्द्रीत भयो भने राम्रो हुन्छ । अर्को कुरा उम्मेदवार हुनका लागि पहिला संगठनमा काम गरेको हुनुपर्छ । वर्कसहरुले चिनेको हुनुपर्छ । चुनावमा जाँदा पनि पब्लिकसँग जुन वडामा उठ्ने हो त्यो वडामा भिजेको मान्छे त हुनुपर्यो नि । यो खाली विधि प्रक्रिया पूरा गरेर पब्लिकले नचिनेको मान्छे परेमा गाह्रो हुन्छ पार्टीलाई ।’