देउवा र शेखरबीच लामो समयपछि संवाद, भ्रातृ संस्था र चुनावी तालमेलबारे छलफल

होमल्याण्ड खबर

२०७८ चैत्र ९ गते, बुधबार ११:२८ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेता डा. शेखर कोइरालाले भेटेका छन् । आज बिहान कोइरालाले सभापति देउवासँग टेलिफोनमा कुराकानी गरेका हुन् । शेखरले भ्रातृ संस्थाको तदर्थ समिति गठनमा भएको ढिलाइबारे सभापति देउवालाई सोधेका छन् । जसमा जवाफमा देउवाले सबैलाई समेटेर छिट्टै भ्रातृ संस्थाहरूको तदर्थ समिति ल्याउने बताएका हुन् । महाधिवेशनपछि देउवाले शेखरसँग औपचारिक छलफलसमेत गरेका थिएनन् । दुवै नेताबीच लामो समयपछि संवाद गरेका हुन् ।

शुक्रबार कांग्रेस केन्द्रीय समितिको बैठक बस्न लागेको सन्दर्भमा शेखर आफैंले देउवालाई टेलिफोन गरी समसामयिक विषयमा छलफल गरेका हुन् । गत मंसिरमा भएको कांग्रेस महाधिवेशनमा सभापति पदमा देउवा र कोइराला प्रतिस्पर्धामा उत्रिएका थिए । सभापति जितेपछि देउवाले कोइरालासँग संवाद नगरेको भन्दै आलोचना भइरहेको थियो।