भरतपुर मेयरमा पुनः माओवादीको दाबी

होमल्याण्ड खबर

२०७८ चैत्र १६ गते, बुधबार १३:०० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् ।

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिए । ‘महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ । बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छौँ’, उनले भने, ‘कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने कुरामा प्रस्ट भएको छ ।’

भरतपुर महानगरमा आफूहरुको दाबी रहेको जनाउँदै प्रचण्डले माओवादी केन्द्र शक्ति सुदृढ गर्ने र आवश्यकताअनुसार तालमेल पनि गर्नेमा अघि बढेको बताए । सबै राजनैतिक दलहरु आ–आफ्नो तवरले निर्वाचनको तयारीमा लागेको जनाउँदै उहाँले निर्वाचन हुने कुरा सुनिश्चित भइसकेको उनले बताए ।