श्रीलङ्कामा हट्यो आपतकाल

होमल्याण्ड खबर

२०७८ चैत्र २३ गते, बुधबार १०:३३ मा प्रकाशित

श्रीलङ्काका आपतकाल हटेको छ । राष्ट्रपति गोटाबाया राजपक्षेले मंगलबार अबेर राती देशव्यापी आपतकाललाई तत्कालका लागि हटाउने निर्णय गरेका हुन् । देशको गहिरिँदो आर्थिक संकटका कारण सर्वसाधारणको हिंस्रक प्रदर्शनलाई मध्यनजर गर्दै १ अप्रिलमा देशका आपतकाल लागू गरिएको थियो ।

मंगलबार अबेर राती जारी सूचनामा राष्ट्रपतिले आपतकाल नियम अध्यादेश फिर्ता लिइएको बताएका छन् । साथै, गोटाबाया राजपक्षेको सरकार अल्पमतमा आइसकेको छ । उनका सबै २६ मन्त्रीको राजीनामा पछि अब सरकारसँग विपक्षका साथै उनका पूर्व सहयोगी दलले पनि उनको राजीनामाको माग गरेका छन् । श्रीलङ्का यतिबेला हालसम्मको सबैभन्दा ठूलो आर्थिक संकटसँग जुधिरहेको छ । देशमा इन्धनदेखि खानपिनका सामग्रीको भारी कमी छ । देशले रेकर्ड मुद्रास्फिति र बिजुलीको कटौतीको सामना गरिरहेको छ ।