पाकिस्तानमा मन्त्रिपरिषद् गठन, बिलावाल भुट्टो विदेश मन्त्री नियुक्त

होमल्याण्ड खबर

२०७८ चैत्र ३० गते, बुधबार १०:२८ मा प्रकाशित

पाकिस्तानमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ । नयाँ मन्त्रिपरिषदमा गठबन्धनमा सहभागी विभिन्न दलको तर्फबाट सिफारिस गरिएका नेताहरूलाई समेटिएको छ ।

सोमबार प्रधानमन्त्रीमा निर्वाचित शेहबाज शरिफले हिजो सपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गर्नुभएको हो । बिलावाल भुट्टो जर्दारी विदेशमन्त्री बन्नुभएको छ । त्यसैगरी आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी राना सनाउल्लाहलाई र सञ्चार मन्त्रीको जिम्मेवारी मार्यम औराङजाबलाई दिइएको छ ।

शरिफ नेतृत्वको सरकारलाई उहाँको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाजसँगै पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतका पार्टीको समर्थन रहेको छ । निवर्तमान प्रधानमन्त्री इमरान खानले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि शरिफको नेतृत्वमा नयाँ सरकार गठन भएको हो ।

शरिफले सरकारको नेतृत्व गरेसँगै पहिलो निर्णयका रुपमा सरकारी कार्यालयको समय परिवर्तन गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिहान १० बजेदेखि सुरु हुने सरकारी कार्यालयको सेवा अबदेखि ८ बजे नै सुरु हुनेछ ।