सरकार र जनमत पार्टीबीच वार्ता

होमल्याण्ड खबर

२०७९ बैशाख २ गते, शुक्रबार १६:२७ मा प्रकाशित

नेपाल सरकार र जनमत पार्टीबीच वार्ता भएको छ । शुक्रबार गृहमन्त्रालयमा मन्त्री बालकृष्ण खाँणसहित सरकारी टोली र जनमत पार्टीका अध्यक्ष डा। सीके राउतसहितको टोलीबीच वार्ता भएको हो ।

वार्तामा विशेष गरी जनमत पार्टीको किसान आन्दोलनको माग सम्बोधन, २०७१ सालमा भएको दुईबुँदे र २०७५ सालमा भएको ११ बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको जनाइएको छ । साथै, जनमतका पार्टीमा रहेका नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न उक्त पार्टीका नेताहरुले माग गरेका छन् ।

जनमत पार्टीले पछिल्लो समय मलखाद पाउनुपर्नेलगायत ११ बुँदे माग राखी किसान आन्दोलन गर्दै आएको थियो । गृहमन्त्री खाँणले किसान आन्दोलन र जनमत पार्टीका मागहरू सम्बोधन गर्न सरकार सकारात्मक रहेको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए । साथै, जनमत पार्टीले पनि वार्तालाई सकारात्मक रूपमा लिएको बताइएको छ ।

उक्त वार्तामा किसानका लागि पेन्सन, बालीनालीको स्वतः बिमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र बीउबिजनको व्यवस्था, बाली क्षतिपूर्तिवापत् राहत, उत्पादनको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी, मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द गर्नुपर्ने र उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग रहेको जनाइएको छ ।

यस विषयमा अर्को चरणको वार्ता हुने पनि जनाइएको छ ।