नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा मतदान जारी

होमल्याण्ड खबर

२०७९ बैशाख २६ गते, सोमबार १३:५४ मा प्रकाशित

फिलिपिन्समा नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ । सोमबार मतदाताहरूले नयाँ राष्ट्रपति चयन गर्नका लागि मतदान गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

मतदानका लागि ६ करोड ७५ लाख मतदाता योग्य छन् । यस मतदानमा मतदाताको उपस्थिति पनि अपेक्षा भन्दा बढी रहेको रोयटर्सले जनाएको छ । मतदानका क्रममा केही विद्युतीय भोटिङ मेसिनमा त्रुटि आएपनि कुनै ठूलो दुर्घटनाबिना मतदान भएको बताइएको छ ।

वर्तमान चुनावमा वर्तमान राष्ट्रपति रोबर्टो डुटेर्टेले उम्मेद्वारी दिएका छैनन् । यस चुनावमा फिलिपिन्सका पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड ‘बोङबोङ’ मार्कोस जुनियर विजयी हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

उनका प्रमुख प्रतिद्वन्द्वीका रुपमा उदारवादी लेनी रोब्रेदो छिन् । उनले सन् २०१६ मा भएको उप राष्ट्रपतीय निर्वाचनमा मार्कोसलाई झिनो अन्तरले पराजित गरेकी थिइन् ।

यद्यपि मतदान अघिका सर्वेक्षणहरूमा मार्कोस ३० प्रतिशत अन्तरले अघि रहेको देखाएको बीबीसीले जनाएको छ । चुनावमा विजयी हुने उम्मेद्‍वारले ६ वर्षको कार्यकाल सम्हाल्नेछन् ।