२ चैत्र २०८२, सोमबार
धरान उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ। वडा नं.२० मा मतगणनाका क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नपाइएपछि विवाद भएको थियो।
हस्ताक्षर नभएका मतपत्र नेकपा माओवादीको ११ वटा, नेपाली कांग्रेसको ४ वटा र नेकपा एमालेको चुनाव चिह्नमा छाप लागेका ३ भेटिएका थिए। केही बेरअघि मतगणनास्थलमै बसेको सर्वदलीय बैठकले कानुन बमोजिम मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र रद्द हुने निर्णय गरेको थियो ।


त्यसलाई लिएर माओवादी केन्द्रले विरोध गरेको थियो।माओवादी कार्यकर्ताहरूले जनताको अभिमत भएका मतपत्रले मान्यता पाउनुपर्ने माग गरेका थिए।
उनीहरुले मतदान अधिकृतलाई कारबाही गर्नुपर्ने माग पनि गर्दै मतदान हुनुपर्ने जिकिर गरेका थिए। विरोध र नाराबाजीका कारण मतगणना अगाडि बढाउन नसकेकाले अहिले धरानको सबै वडाको मतगणना स्थगित भएको सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले बताए।
वडा नम्बर २० को मतगणना सकिँदा माओवादी केन्द्र ४ भोटले पराजित भएको छ। कांग्रेसले जिते पनि निर्वाचन परिणाम अझै पनि घोषणा भएको छैन।