२ चैत्र २०८२, सोमबार
गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटघाट गरेकी छन् । गृह मन्त्रालयमा आइतबार भएको भेटमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धबारे छलफल भएको छ ।
भेटमा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५औं वार्षिकोत्सवको उपलक्ष्य एवम् दुई देशबीचको विकास साझेदारीको ६० वर्ष लामो सम्बन्धबारे छलफल भएको थियो ।


गृहमन्त्री खाणले भूकम्पछिको पुनर्निर्माण र कोभिडविरुद्धको नेपाललगायत विश्वव्यापी लडाइँमा प्राप्त अमेरिकी सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन् ।
भेटमा गृहमन्त्री खाणले नेपाल आफ्नो छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध रहेको उपमन्त्री जियासँग बताए । उनले विश्वमा स्वतन्त्रता, मानव अधिकार र लोकतन्त्रको योगदानको लागि अमेरिकाले पु¥याएको योगदानको प्रशंसासमेत गरे ।
अमेरिकी सहयोग नियोग (एमसीसी) संसदबाट अनुमोदन गरी नेपालको विकास र गरिबी निवारणतर्फ सरकार अग्रसर भएको विषयलाई अमेरिकी सरकारको तर्फबाट उपमन्त्री जियाले धन्यवाद व्यक्त गरेकी थिइन् ।
उनले अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोगमा बढोत्तरी गरेको जानकारी दिइन् ।
भेटमा नेपालले धार्मिक स्वतन्त्रता तथा मानव अधिकारको क्षेत्रमा पु¥याएको योगदान तथा अमेरिकी सरकारको मानव अधिकार र लोकतन्त्रप्रतिको प्रतिबद्धताको सह्राना गर्दै आगामी दिनमा यस क्षेत्रमा दुई देश मिलेर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ।