शेखर कोइरालाले बोलाए आफु पक्षीय नेताको भेला

होमल्याण्ड खबर

२०७९ असार १६ गते, बिहीबार १०:२२ मा प्रकाशित

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षका नेताहरूको बैठक बोलाएका छन् । पार्टीको आन्तरिक जीवन, समसामयिक राजनीति र देशको आर्थिक अवस्थाबारे छलफल गरी धारणा तय गर्न कोइरालाले आफु पक्षका नेताहरुको बैठक बोलाएका हुन् । बैठक दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने छ ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व दोहोराएर सम्हालेको फेरी ६ महिना पुग्दा समेत पार्टी गतिविधि फेरि पनि अस्तब्यस्त बन्दै जान थालेको, विधान अनुसार गठन गर्नुपर्ने विभागहरु गठन हुन नसकेको र भातृ सस्थाहरुको हालत पनि भद्रगोलमै रहेकोले पार्टीको आन्तरिक गतिविधि र सरकारका कामकारबाहीका विषयमा पनि छलफल गर्नका लागि कोइरालाले आफु पक्षीय नेताहरुको बैठक बोलाएका हुन् ।

सभापति देउवाले विधानअनुसार गठन गर्नुपर्ने विभाग तथा समितिहरूलाई पूर्णता दिएका छैनन्। गत मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन भएको थियो। विधानअनुसार छ महिनाभित्र कोषाध्यक्ष, केन्द्रीय समिति, कार्यसम्पादन, संसदीय समिति र विभाग गठन गरिनुपर्नेमा कुनै पनि कामलाई सभापति देउवाले पूर्णता दिन नसकेपछि आलोचना भइरहेको छ। सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई कोषाध्यक्ष मनोनीत गर्नुपर्ने हो। तर अहिलेसम्म कोषाध्यक्ष पद रिक्त छ।
३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्नेमा देउवाले १३ जनालाई मात्रै मनोनीत गरेका छन्, उनीहरू सबै सभापति देउवानिकटका हुन्। कांग्रेस केन्द्रीय कार्यसमिति १६९ सदस्यीय हो। सभापतिमा देउवासँग पराजित कोइराला स्वत केन्द्रीय सदस्य छन्।
यस्तै, केन्द्रीय कार्यसम्पादन र संसदीय बोर्डलाई पनि सभापति देउवाले पूर्णता दिएका छैनन्। सभापति देउवाले गत पुस १० मा कार्यभार सम्हालेका थिए। त्यो दिनदेखि गणना गर्दा पनि देउवा सभापति भएको छ महिना कटिसकेको छ।
साथै बैठकमा आगामी संघ र प्रदेश चुनावमा देउवाले गठबन्धन दलहरुलाई दिन सक्ने स्पेशका विषयमा पनि छलफल हुने बताईएको छ ।