होमल्याण्ड खबर
२०७९ असार २१ गते, मंगलवार १०:५५ मा प्रकाशित
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा तीन विषयमाथि छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गरिनेछ ।
आजको बैठकमा शेखर कोइराला समूहले पाँच बुँदे असन्तुष्टि जाहेर गर्ने भएको छ । पार्टीका सबै विभागमा ४० प्रतिशतको दाबी गर्दै आफूहरूले असन्तुष्टि जाहेर गर्ने तयारी गरेको केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिएका छन्। गत बिहीबार बसेको कोइराला समूहका बैठकले सरकार भ्रष्टाचारमा लिप्त भएको, सभापति शेरबहादुर देउवा पार्टीको नेता नभएर गुटको नेता भएको भन्दै ‘रचनात्मक विद्रोह’ गर्ने निष्कर्ष निकालेको थियो । महामन्त्री गगन थापासमेत उपस्थित बैठकमा कोइराला पक्षधरका अधिकांश नेताको उपस्थिति रहेको थियो । कांग्रेसले असार २७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।