२ चैत्र २०८२, सोमबार
प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बैठक सुरु हुने संसद सचिवालयले जनाएको छ। आजको बैठकमा ६ वटा कार्यसूची रहेको छ। पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन २०७७-२०७८’ पेश गर्ने राखिएको छ ।
त्यसपछि गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ लाई फिर्ता लिने प्रस्ताव र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसैगरी खानेपानी मन्त्री उमाकान्त चौधरीले ‘विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको खानेपानी तथा सरसफाइ विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव गर्ने र त्यसपछि सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।


